रङ्गेली/ सञ्चार क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा शुक्रबार विरानटगरमा उनले पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउन सके समाज पनि त्यति नै जिम्मेवार हुने दाबी गरे ।

पत्रकारको लेखाइ, बोलाइ र टिप्पणीले कसैको जीवन नै तहसनहस भएको आफूले देखेकाले पनि समाजप्रति पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।

उनले व्यवसायिक पत्रकारहरूको नाम, जात, धर्म, लिङ्ग, क्षेत्र, सम्प्रदाय नहुने दाबी गरे । उनले सञ्चार माध्यमले सकरात्मक नलेख्ने भएकाले सरकारको काम पनि त्यस्तै हुने गरेको बताए ।

सरकारले गरेको गल्तिलाई देखाइदिने हो भने सरकार आफ्ना काम सच्याएर अगाडि बढ्ने बताए ।

सङ्घीय समाजवादी फोरमका सांसद् जयराम यादवले दण्डहिनता अन्त्यका लागि प्रशासन र पत्रकार सजग हुन आवश्यक रहेको औल्याए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सकारात्मक र नकारात्मक दुवै विषयले सञ्चार माध्यममा स्थान पाउनुपर्ने बताए ।

उनले कानून र विधिको शासनमा चल्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदार रिजाल, नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेललगायतले आफ्नो धारणा राखेका थिए ।