[caption id="attachment_99914" align="alignleft" width="640"] गुगल[/caption]

बिर्तामोड /जटिल प्रकृतिको सफल उपचार गरेर चर्चामा आउन सफल झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल छिनेको हात जोड्न सफल भएको छ ।  आकाश फुड्स कम्पनीमा कार्यरत मोरङ रङ्गेली–५ का प्रवीण मण्डलको छिनेको हात जोडिएको उपचारमा संलग्न चिकित्सक निराजन पराजुलीले जानकारी दिए ।

कम्पनीको मेशिनमा च्यापिएर असोज २२ गते मण्डलको हात छिनेको थियो । हात चुँडिएपछि मण्डललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उनका बाबु गङ्गा मण्डलले जानकारी दिए ।

धरानमा उपचार सम्भव नभएपछि घाइते मण्डललाई बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याएको उनले बताए । चिकित्सक पराजुलीसहितको टोलीले २४ घण्टाको अपरेशनपछि मण्डलको हात जोड्न सफल भएको हो ।

‘अहिलेसम्म ७–८ पटक अपरेशन भइसकेको छ, चिकित्सक पराजुलीले भने,– ‘पहिले हात गुम्न नदिनु प्राथमिकता हो भनेर काम गर्यौं, हात जोडियो, अब ३ महिनापछि हड्डीको अपरेशन गर्नुपर्छ ।’ उनले घाइते मण्डलको हात ९० डिग्रीमा फिक्स गरिएको बताउँदै चिकित्सकीय दृष्टिकोणले त्यसलाई सफल उपचार भएको मानिने बताए ।

बीएण्डसीमा उपलब्ध उपकरण तथा चिकित्सकको मिहिनेतका कारण जोड्न नमिल्ने गरी चुँडिएका शरीरका अङ्ग पनि जोड्न सफल भएको पराजुलीले बताए ।

उनले दक्षिण एशियामै झापाको बीएण्डसी हस्पिटलले आधुनिक र प्रभावकारी उपकरण उपलब्ध गराएको दाबी पनि गरे । चुँडिएको ८ घण्टाभित्र उपचार गर्न आए अङ्ग जोडेर उपचार गर्न आफू सक्षम रहेको पराजुलीले बताए ।