यासोक । पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. ३ का स्थानीय सुदिप सम्बाहाम्फे ट्याक्सीबाट तराई आवत–जावत गर्ने गर्दछन् । उनले ३४ किलोमिटर दुरी पार गर्दा एक हजार भाडा तिर्दै आएका छन । यो सुन्दा अचम्म लाग्न सक्छ । तर सम्बाहाम्फे जस्तै गाउँपालिकावासीको यस्तै बाध्यता छ । पाँचथरको लक्षिणी तुम्बेवा गाउँपालिकाका स्थानीयबासी गाउँपालिका केन्द्रबाट ३४ किलोमिर दुरीको यात्रा बापत एक हजार बुझाउँन बाध्य भएका छन् ।
प्रस्तावित तमोर कोरिडोर सडक अन्तरगर्त पाँचथरको तुम्बेवा गाउँपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मुलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक पार गर्नु पर्छ । सवारी साधनको अभावको कारण स्थानीय सवारी सञ्चालनकहरुले तोकेको भाडा तिर्न बाध्य भएका छन । छोटो मार्गको रुपमा पूर्वी तराईलाई ताप्लेजुङको ओलाङचुङगोलाहुदै चीनसम्म जोड्ने उदेश्यले निर्माणाधीन तमोर कोरिडोर अन्तरर्गत मौवा–धरान खण्डमा सवारी सञ्चालन हुन थालेको बर्षदिन भयो । सवारी साधन संञ्चालन हुन थालेपछि यातायात ब्यवसाहीहरुले मनपरी भाडा दर निर्धाणर गरेका थिए । हालसम्म पनि उक्त भाडादर कायमै हुदा स्थानीयवासी चर्को भाडा तिर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्रबाट दैनिक ५ ओटा ट्याक्सी झापाको दमकसम्म सञ्चालित छन् । गाउँपालिकाको केन्द्र मौवादेखि दमकसम्मको दुरी १ सय २५ किलोमिटर छ । ट्याक्सी सञ्चालकहरुले धनकुटाको मुलघाटहुदै यात्रु जुनसुकै ठाउँमा उत्रिएपनि पूरै १ सय २५ किलोमिटरको भाडा लिने गरेको गरेको स्थानीयको गुनासो छ ।
मौवा बजारबाट मुलघाटसम्मको दुरी ३४ किलोमिटर छ भने मौवा–धरानको दुरी ७२ किलोमिटर । यी जुन स्थानसम्म पुगेपनि यात्रुले पूरा १ सय २५ किलोमिटरको भाडा तिर्नुपर्ने बाध्यता रहेको तुम्बेवा गाउपालिका वडा न. ३ का वडा अध्यक्ष कमल थापाले बताए । तमोर कोरिडोर निर्माण हुनुपूर्व तुम्बेवा गाउँपालिकाका स्थानीयवासी दक्षिणी कुम्मायक गाउँपालिको यासोकबाट सदरमुकाम फिदिम हुदै करिव ९ घण्टा लगाएर तराई झर्न बाध्य थिए । तर जब तमोर कोरिडोरको ट्रयाक खुल्यो तब केही घण्टामै तराई पुग्ने स्थानीयबाट ब्यवसाहीले चर्को भाडा लिदै आएका छन् । तर सवारी चालक कमल रसाईलीले सडकको अबस्थाका कारण हिउदको समयमा भन्दा पनि बर्खाको समयमा एक हजार भाडा लिने गरेको बताउँछन । गाउँपालिकाले व्यवस्थीत सडकमर्मत सम्हार नगरेका कारण यस्तो समस्या भएको हो । अहिले ‘हामीले मौवा–दमकसम्मको लागि एक हजार लिने गरेका हौं, तर मुलघाटसम्मको लागि ८ सय रुपयाँमात्र लिने गरेका छौं दावि गर्दै उनले भने । त्यस्तै जिल्लाको अर्को कुम्मायक गाउँपालिकाको केन्द्र यासोकबाट मौवाहुदै धरान पुग्न ७० किलोमिटर दुरी पार गर्नुपर्छ यासोकबाट धरानसम्मको ७० किलोमिटरको भाडा ८ सय रुपयाँ रहेको स्थानीयवासी बताउँछन् । तर यासोक भन्दा छोटो दुरीमा रहेको मौवाबाट मुलघाट होस् वा धरान जहाँ पुगेपनि एक हजार भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।
स्थानीयवासीले चर्को भाडा दरको बिषयमा गाउँपालिका प्रमुखलाई गुनासो गरेपछि गाउँपालिकाले पटक–पटक छलफल गरिसकेको गाउँपालिका प्रमुख होमनाथ थापाले बताए । गाउँपालिकाले २ पटक छलफल गर्दा पनि ब्यवसाही भाडा घटाउँने पक्षमा लचक भएनन् । चाडपर्वको मुखमा एक्सन लिदा पनि स्थानीयवासी मारमा पर्ने हुनकी जस्तो लाग्यो त्यसैले कडा रुपमा प्रस्तुत भएनौं ।’ ब्यवसाहीले कात्तिक १ गतेदेखि भाडा घटाउँछौ भनेका छन् । त्यत्तिञ्जेलसम्म पर्खन्छौं, थापाले भने । पाँचथरको कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकावासी छोटो दुरीको सडको रुपमा तमोर कोरिडोरको सडक प्रयोग गर्दै आएका छन । तर व्यवसाहीको चर्को भाडा दरबाट स्थानीय लामो समयदेखि ठगिदै आएका छन ।