
पानवारी/ नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दीपावलीमा विभिन्न अपराधिक घटनाहरु बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा छ ।
चाडपर्वमा स–साना विषयमा उठेको विवादले ठूलो घटना हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाको अनुभव छ ।
उनी भन्छन् –‘चाडबाडमा रमाइलो गर्ने बहानामा मादक पदार्थ खादा तथा जुवा तास खेल्दा सानो कुरामा ठूलो घटना हुने गरेको छ ।’ प्रहरीले यस्ता घटनालाई निरुत्साहित गर्न चाडपर्व सुरक्षा योजना बनाएर काम सुरु गरेको छ ।
जस अन्तर्गत इलाका प्रहरी कार्यालय धरानले सादा पोशाकका प्रहरी परिचालन गरी बेलुकी रातको समयमा हुल हुज्जत गर्दै हिड्ने तथा समुहमा बसेर मादक पदार्थ सेवन गर्ने, गाजाँ तथा लागु औषध सेवन गर्ने समुहलाई नियन्त्रणमा लिने अभियान चलाएको छ ।
जस अन्तर्गत १० दिनमा एकसय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले धरानका २० वटै वडामा अभियान सञ्चालन गरेको छ ।
जसअन्तर्गत गत असोज ३ गते १८ जना, ४ गते ८ जना, ७ गते ७ जना, ९ गते ६ जना, १० गते २५ जना, १३ गते २ जना, १५ गते १८ जना, १७ गते ९ जना, १९ गते ८ जना, २१ गते ६ जना र २२ गते १० जनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको छ । यसरी नियन्त्रणमा पर्नेहरु अधिकांश २० वर्ष मुनिका छन् ।
प्रहरी नियन्त्रणमा परेकाहरु प्राय गरी सेउती र सर्दु खोलाको किनार, चारकोषे जंगल छेउ, एकान्तमा भएका चौताराहरुबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।
उनका अनुसार यी सबैलाई कोही गाँजा खादै गरेको अवस्थामा कोही लागुऔषध सेवन गरेको अवस्थामा तथा कोही मादक पदार्थ सेवन गरी मातेको अवस्थामा नियन्त्रणमा लिइएका हुन् ।
उनीहरुलाई सादा पोशाकका प्रहरीले राति ८ बजेदेखि ११ बजेसम्ममा नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिइएकाहरुको व्यक्तिगत विवरण राखेर काउन्सिलिङ गरेर भोलीपल्ट अभिभावकको रोहबरमा छाड्ने गरिएको डिएसपी तिम्सिनाले बताए ।
यसरी नियन्त्रणमा परेकाहरुलाई प्रहरीले सोही दिन २ घण्टा र हरेक शनिबार विहान ११ बजेदेखि २ घण्टा ओरेन्टेसन क्लास दिने गरेको छ ।
उनीहरुलाई अभिभावकसँगै राखेर काउन्सिलिङ गर्दा उनीहरुको व्यवहारमा परिवर्तन आएको डिएसपी तिम्सिनाको दाबी छ ।
अभिभावकले समेत प्रहरीको कार्यक्रम राम्रो भएको भन्दै प्रशंसा गरेका छन् ।
धरान–१५ का एक अभिभावकले भने हामीले भन्दा नमान्ने छोराले अहिले केही कुराको ज्ञान पाएको जस्तो गर्न थालेको छ ।
समुहमा हिनेर बलियो ठानेर आफुलाई कसैले केही गर्न नसक्ने मानसिकता बोकेका युवाहरु अहिले अपराध गर्न हुदैन र गरिहाले प्रहरीले छाड्दैन भन्ने कुरा बुझाउन अभियान सफल भएको डिएसपी तिम्सिनाको दाबी छ ।