पथरी/मोरङको कानेपोखरी–३ हरकपुरमा एकै परिवारका चारजना सदस्य आगोले जलेर मृत्यु भएको एक वर्ष बित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

घटना भएको एक वर्षबित्दा पनि प्रहरी चुप बस्नुले घटना रहस्यमय भएको पीडित परिवारको दाबी छ ।

पीडित परिवारले पारिवारिक कलह, धनसम्पत्तिको लोभ–लालचमा षड्यन्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको दाबी गर्दै आएको छ ।

अहिले पनि यो घटना भवितव्य वा आफै भएको मान्न तयार छैनन् पीडित परिवार । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधी उम्कन नसक्ने पीडित परिवारको भनाइ छ ।

के मेरो, आमा, दाजु–भाउजू र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अब कहाँ गएर न्याय खोज्ने ? यी प्रश्न थिए पीडित परिवारका सदस्य इन्दिरा राईको । उनी शङ्कास्पद हत्या प्रकरणमा परेकी ८६ वर्षीया गङ्गामाया राईकी छोरी हुन् ।

घटना करिब एक वर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिब १ बजे एकै परिवारका चार जनाको हत्या भएको थियो ।

घटनामा ८६ वर्षीया आमा गङ्गामाया, ५६ वर्षीय दाजु चन्द्रकुमार राई, ५० वर्षीया पार्वता राई (चन्द्र र पार्वता पति–पत्नी) र ४५ वर्षीया दिदी विष्णुकुमारी राई तामाङको शङ्कास्पद हत्या भएको थियो ।

काठको २५ खम्बा भएको, बाँसको सेन्टरबेरा र जस्ताको छानो भएको दुई तले घरमा राति एक्कासि आगो लागेको छिमेकीहरूले देखे ।

छिमेकीहरू त्यहाँ पुग्दा आधा जति घर जलिसकेको थियो । दमकल आइपुग्दा करिब डेढ करोडको धनसम्पत्ति जलिसकेको थियो ।

सम्पत्ति त जल्यो जल्यो, चार जनाको केही शव आधा जति जलेको अवस्थामा रगताम्य भेटिएको थियो ।

मृतक गङ्गामायाको अर्को छोरा र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए ।

चन्द्रकुमारको एक छोरा र एक छोरी अध्ययनको लागि काठमाडौँमै थिए ।

गङ्गाको छोरी त्यही दिन आमा र दाजुभाउजू भेट्न कानेपोखरी–३ हरकपुर मूलघरमा आएकी थिइन् ।

माइतीघर आएकै दिन जल्नु र मर्नु पर्यो विष्णुकुमारी राई(तामाङ)ले पनि ।

किन परिवारैको हत्या गर्नुपर्यो ?  मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

समाजमा नेतृत्वकर्ताको भूमिका निर्वाह गर्दै आएका उनी पछिल्लो समयमा घरैमा किराना पसल व्यवसायी थिए ।

चन्द्रको गाउँमा प्रायः सबैसँग मेलमिलाप थियो ।

आमा गङ्गामाया र बहिनी विष्णुको मात्र हत्या हुँदा चन्द्रकुमारले छाड्ने थिएनन् ।

अपराधी उम्किन मुस्किल थियो ।

त्यही भएर आमा गङ्गा, छोरी विष्णुसहित चन्द्र र उनको पत्नीको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दाबी छ ।

कहाँ कहाँ दिइयो उजुरी ? त्यो घटना हुँदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो ।

त्यहाँ उजुरीको साथै घटना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूको बारे सबै सूचना उपलब्ध गराए पनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडितहरूले गुनासो गर्दै आएका छन् ।

पथरी प्रहरीमा राजनसहित तीनपटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ ।

सबै प्रहरी प्रमुखलाई घटनाको राम्रो अनुसन्धान गर्न अनुरोध गर्र्दै आए पनि खासै वास्ता नभएको पीडित परिवारको गुनासो छ ।

चार–चार जनाको मृत्यु भए पनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको मृतक चन्द्रकुमारका दाजु रामकुमार राईको पनि गुनासो छ ।

इलाका प्रहरी कार्यालयले त्यसबेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको आशङ्का छ ।

पीडित परिवारले जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, सङ्घीय प्रहरी कार्यालय सुनसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरेको पीडित रामकुमारले बताए ।

गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घटना प्रकृति बताए पनि मन्त्रालयको आवश्यक चासो नदिएको मृतक चन्द्रकुमारकी बहिनी इन्दिरा राईको गुनासो छ ।

परिवारले उजुरी मात्र दिएका छैनन् ।

घटनास्थलमै २०७४ असोज २९ गते पत्रकार सम्मेलनको गरेर शङ्कास्पद हत्याको बारे आम जनतालाई जानकारी गराएका थिए ।

परिवारले नागरिक समाज, बुद्धिजीवी, गृह मन्त्रालय, मानवअधिकारवादी सङ्गठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धानको माग गर्दै आएका छन् ।

एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने सम्भावित कारणहरू स्पष्टै खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिरा राईले बताउँदै आएकी छन् ।

मृतककी दिदी विष्णु र भेनाबीच राम्रो सम्बन्ध थिएन । आमा गङ्गाको नाममा रहेको जग्गा देवर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको बताइएको छ ।

मृतक परिवारको माग घटना नियोजित हत्या हो ।

किन प्रभावकारी अनुसन्धान हुँदैन ? प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कडा कारबाही हुनुपर्ने पीडितको माग छ ।

अनुसन्धान राम्रो नहुँदा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ ।

तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धित निकायसँग मृतक परिवारले माग गरेको छ ।

चन्द्रकुमारका दुई छोराछोरीले एकैसाथ आमाबाबु गुमाएका छन् ।

घटनाको छानविन गरी ती निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले ।