धरान/ धरान–१५ की ७ वर्षीया बालिकालाई पालन–पोषण गर्ने नाममा भारतको दार्जिलिङमा घरेलु कामदारको रूपमा प्रयोग गरेको पाइएपछि उद्धार गरिएको छ ।

दुई वर्षअघि नै उद्धार गरिए पनि बालिकाको ठाउँ, ठेगाना स्पष्ट नहुँदा उद्धारमा संलग्न संस्था बालसुरक्षा अभियान कालिम्पोङलाई समस्या परेको थियो ।

घरेलु कामदार लगाउने दार्जिलिङ जिल्ला लोवर नेवाङ मैरूङ गाउँका वीरेन राईलाई अभियानको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि अदालतमा राईले बच्चीका आफन्तबाट ‘धर्म भाइ’ को फर्जी कागजात बनाई राजीखुसीले नै लगेको भन्ने जिल्ला अदालत कालिम्पोङमा कागजात पेश गरेको भेटिएपछि बच्ची धरान–१५ को रहेको खुलेको हो ।

राई पक्राउ पर्नुभन्दा पहिलेको मिति कायम गरेर फर्जी कागज बनाएको खुलेको अभियानका अभियन्ता विकास प्रधानले बताए ।

कागज २०७२ साल माघ ४ गतेको मिति हालेर बनाइएको छ । उनी सन् २०१६ मे २१ मा पक्राउ परेका थिए ।

प्रधानको टोली उनको अभिभावक खोज्दै सोमबार धरान आइपुगेपछि फर्जी कागजात लेख्ने लेखन्दास सुवास मादेनसँग भेट गरेको छ ।

प्रधानले बच्चीको अभिभावकसँग भेटाइदिनको लागि उनीसँग आग्रह गरेका थिए । तर, मादेनले आफूले एकजनालाई मात्रै चिन्ने बताएका छन् । तर, उनले लेखेको कागजमा भने ६ जनाभन्दा बढी साक्षी बसेका छन् ।

यता मादेनले उनका आफन्तले बाटोमा जाँदा प्रहरीले अप्ठ्यारो पार्छ भनेपछि सोहीअनुसारको कागज आफूले बनाइदिएको स्पष्ट पारे । उनले आफूलाई बाल मजदुरमा लगेको भन्ने विषयमा कुनै जानकारी नभएको बताए ।

‘किन लगियो मलाई त्यो थाहा भएन’ उनले भने, ‘मलाई त बाटोमा जाँदा प्रहरीले अप्ठ्यारो पार्छ । कागज बनाइदिनू भनेपछि बनाइदिएको हुँ ।’

जतिखेर उनले कागजात बनाएका थिए त्यतिबेला बच्ची उनीहरूको साथमा भए-नभएकोबारे आफूलाई ख्यालै नभएको मादेनले बताए ।

बच्चीलाई अभियानले सन् २०१६ मे २१ का दिन प्रहरीको सहयोगमा उद्धार गरेको थियो ।

त्यसक्रममा बच्चीलाई स्कुलसमेत नपठाएको र घरमै कामदारको रूपमा काम गराएको भेटिएको अभियन्ता प्रधानले बताए ।

‘उसले (वीरेन) राखेको करिब ६ महिना भइसकेको रहेछ । बाल मजदुरीमा राखेको रहेछ’ उनी भन्छन्, ‘बच्चीले स्कुल पढेको थिएन । मुद्दा चल्यो । पुलिस केस भयो । बीचमा एउटा कागज फेला पर्यो ।

केसलाई कमजोर बनाउन ब्याक डेटको त्यो जाली कागज बनाएर लगेको भेटियो ।’

बच्चीको अभिभावक कहाँ छन्, कुन अवस्थामा छन् भन्नेबारे हालसम्म जानकारी नभएको धरान–१५ का वडाध्यक्ष नरेश इवारामले बताए ।

बच्चीका आफन्त खोज्दै अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्रका निर्देशक सुनिल खड्काको सहयोगमा अभियानको टोली वडा कार्यालय आएपछि कागज लेख्ने मादेनलाई बोलाएर बच्चीको अभिभावकसँग भेट्टाइदिनका लागि भनिएको उनले बताए ।

‘हामीले आफन्त पत्ता लगाउने काम गरिदिने हो । मादेनले लेखेको भेटिएपछि उनलाई बोलाइएको हो’ –उनले भने ।

अहिले बच्ची अभियानकै संरक्षणमा भारतमै बसिरहेकी छन् ।

अभियानले चेलीबेटी बेचविखन, तस्करी तथा घरेलु श्रमका विरुद्धमा लामो समयदेखि काम गर्दै आइरहेको छ ।