धरान/ ब्लाष्ट टाइम्स दैनिकका पाँचथर संवाददाता पत्रकार सन्देश सुब्बा सम्मानित भएका छन् ।

फिदिमबाट प्रकाशित पब्लिक टाइम्स साप्ताहिकको छैठौं वार्षिक उत्सवको अवसरमा आइतबार सुब्बा सम्मानित भएका हुन् । उक्त पत्रिकामा विगतमा सह–सम्पादकको भूमिका रहेको प्रकाशक गणेश साम्पाङले बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मानित गरे । पत्रिकाले उत्कृष्ट रिपोर्टरलाई समेत सम्मान गरेको थियो । यसैबीच विराटनगरमा पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानको खिलेश्वरी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल पुरस्कृत भएका छन् । प्रतिष्ठानले विराटनगरमा आइतबार पत्रकार पोखरेललाई पुरस्कार प्रदान गरेको हो । अध्यक्ष पोखरेललाई ११ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो । पोखरेलले डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् । एक नम्बर प्रदेशसभाका ज्येष्ठ सांसद् ओमप्रकाश सरावगीले पत्रकार पोखरेललाई सम्मान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष चूडामणि रेग्मीका अनुसार हालसम्म २२ जना पत्रकारलाई सम्मानित गरिसकिएको छ ।

प्रतिष्ठानका सदस्य मोहन भण्डारीका अनुसार दिवङ्गत पत्रकार कोषराज रेग्मीले आफ्नो आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेका थिए ।