
रङ्गेली । सर्वसाधारणलाई सेवा दिन बसेका विराटनगर महानगरपालीकाका एक कर्मचारीले सेवाग्राहीसँग बढी रकम लिएर कम रकमको बिल काटे पछि आइतबार रंगेहात पक्राउ परेका छन् । राजश्व महाशाखामा आफ्नो घर जग्गाको कर बुझाउन आएका सेवाग्राहीसँग बढी रकम लिएर कम रकमको बिल काटेको आरोपमा महाशाखाका कर्मचारी तिलकमणी पोखरेल पक्राउ परेका हुन् । खरदार पदका पोखरेललाई महानगरपालिका प्रमुख भीम पराजुली र वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीले रंगेहात समातेका हुन । सेवाग्राहीले वडा अध्यक्षसँग घुस मागेको गुनासो गरेपछि प्रमुख पराजुलीसम्म उजुरी पुगेको थियो । उजुरीपछि पोखरेललाई रंगेहात समातिएको प्रमुख पराजुलीले जानकारी दिए । पक्राउ परेका पोखरेलले सेवाग्राहीसँग घरजग्गा कर वापत बुझाउनु पर्ने ७३ हजार ५ सय ५५ रकम भन्दा बढी ११ हजार ४ सय ४५ रुपिँया बढी रकम लिएको पाइएको थियो । पोखरेलले सेवाग्राहीसँग ८५ हजार रुपिँया रकम बुझेर ७३ हजार ५ सय ५५ रुपिँयाको मात्र प्रमाणित बिल दिएका छन् । महानगरपालिकाका प्रमुख पराजुलीले घुस लिने कर्मचारी पोखरेललाई अख्तियारको जिम्मा लगाउने जानकारी दिए ।