पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजत जयन्ती सोमबार सम्पन्न भएको छ । रजत जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागी भारतीय राजदुत मन्जित सिंह पुरीले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान चिकित्सक उत्पादनदेखि, अनुसन्धान र विरामीलाई दिइरहेको सेवाको आधारमा उत्कृष्ट रहेको भन्दै त्यसको हिस्सेदारमा आफु (भारत) हुन पाउँदा गर्व मसहुस भएको बताएका छन् । उनका अनुसार विपिकेआइएचएसबाट अध्ययन सकेका चिकित्सकहरु विश्वमा प्रख्यात रहेको नेपाल र भारतमा मात्रै नभई विश्वकै अस्पतालहरुमा विपिकेआइएचएसका चिकित्सकहरुमाथी ठूलो विश्वास रहेको बताए । विपिकेआइएचएसले पूर्वी नेपालको मात्र नई आसपासका भारतीय जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । विपिकेआइएचएसले अहिलेसम्म धेरै उपलब्धी हाँसील गरेको भन्दै अब त्यता भन्दा पनि अब कसरी उत्कृष्ट हुन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । उनले प्रतिष्ठानको रजत जयन्ती तथा १ सय ५ औं विपि जयन्तीको अवसरमा विपिकेआइएचएस अझ धेरैलाई सेवा दिन सकोस्, अनुसन्धानमा अब्बल रहोस् र अझ सफलता प्राप्त गर्दै जाओस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले दैनिक २० जनालाई सेवा दिएर सुरु भएको अस्पताल अहिले ३ हजार भन्दा बढीले दैनिक सेवा लिइरहेको बताए । उनले प्रतिष्ठानमा आएका विरामीलाई रिफर गर्न नपरोस् भन्ने आफ्नो चाहाना रहेको बताए । उनले यही (प्रतिष्ठानमा) किड्नी, मुटु र हड्डीको ट्रान्सप्लान्ट गर्ने योजना रहेकोले यसलाई यही सम्भव बनाउन योजना बनाइरहेको बताए । उनले इमरजेन्सीको क्षमता बढाउने, १० बेड आइसियुमा थप्ने, नयाँ अक्सिजन प्लान्ट खोल्ने, मेडिसिन र सर्जरीलाई छुट्टाछुट्टै बनाउने योजना रहेको भन्दै दु्रत गतिमा काम गरिरहेको बताए । प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउने तर्फ पाइला अघि बढाएको समेत जानकारी दिएका छन् । प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सरकारले तोकेको तलब उपलब्ध गराउने तथा विशेषज्ञहरुलाई बाहिर धेरै तलब खोज्दै नजाने गरीको पारिश्रमीक दिनको लागी योजना बनिरहेको बताएका छन् । विपि जयन्तीको अवसरमा प्रतिष्ठानले आयोजना गरेको रजत जयन्ती समारोहमा उपस्थिति अतिथिहरुले स्व. विपि कोइरालाको तस्बिरमा माल्यार्पण गरेका थिए । त्यस्तै रजत जयन्तीको अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको समेत विमोचन गरिएको थियो । समारोहमा राजदुत मन्जित सिंह पुरी, संस्थापक सदस्य डा. नारायण कुमार, पूर्व निर्देशक प्रा.डा., सुन्दरमणी दिक्षित, प्रा.डा. मनोहरप्रसाद गुप्ता, पूर्व उपकुलपति प्रा.डा. लोकविक्रम थापा, पूर्व रजिष्टर नन्दकुमार थापा तथा सिनेटर डा. अन्जनकुमार झालाई सम्मान गरिएको थियो ।