
पाँचथर । गजल मञ्च पाँचथरले हरेक वर्ष मोतीजयन्तीको अवशरमा प्रदान गर्दै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ को छैठौं संस्करण गजलकार ललीजन रावललाई प्रदान गरिएको छ । १५३ औं मोतीजयन्तीको अवशरमा शनिबार फिदिममा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगुले रावललाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशी सम्मान–पत्र सहित नगद पाँच हजार ५५५ रुपैंयाँ रहेको छ । पुरस्कार ग्रहण गरेपछि बोल्दै गजलकार रावलले गजल लय र मात्रामा आधारित रहेर लेखिने बिधा भएको उल्लेख गर्दै युवा पुस्ताले गजलको वास्तबिक संरचनालाई भुल्दै लगेकोप्रति चिन्ता ब्यक्त गरे । २८ पुष २०२१ मा कालिका अछाममा जन्मेका नेपाल रेडियो नेपालको उपनिर्देशकको रुपमा कार्यरत छन् । उनको ‘केही गजलहरु– २०४२’, ‘बिरानो यो ठाउँमा– २०४६’, ‘एउटा बन्द खाम– २०६५’ लगायत एक दर्जन कृति प्रकाशित छन् । ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ र लेखक सागर केरुङ लगायत परिवारले स्थापना गरेका हुन् । सो अवशरमा मञ्चले आयोजना गरेको देशब्यापी गजल प्रतियोगिताको बिजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा राज लम्साल यात्री, मोरङ प्रथम, राम अविरल विष्ट, अछाम, द्धितिय, मुक्त उदास, चितवन, त्रितिय, सीता प्याकुरेल, धादिङ, सान्तवना भएका थिए । उनीहरुलाई सम्मान–पत्र सहित क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ प्रदान गरिएको थियो । १५३ औं मोतीजयन्तीकै अवशरमा ‘काब्य लहर कवि भेट रचना वाचन’ कार्यक्रम समेत सम्पन्न भयो । जसमा धनकुटाका कवि केजी सुब्बा, रोशन परियार, सुनसरीका कवि टिका आत्रेय र पाँचथरका कवि सन्देश सुब्बाले कविता वाचन गरेका थिए । ‘शब्द–श्रृङ्खला–७ गजल मेहेफिल’ समेत सोही अवशरमा सम्पन्न भयो । मेहेफिलमा लोकेन्द्र बञ्जरा झापा, सुमन स्मारिका कैलाली, प्रदीप रोदन गोरखा, संगीता थापा मकवानपुर, इश्वर दाहाल धनकुटा, वन्दना विवश पाँचथर र इन्द्र सरोबर ताप्लेजुङ ले गजल वाचन गरेका थिए ।