तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीको लुम्बुघाटस्थित मोटरेवल पुल निर्माणमा ढिलाइ भएको भन्दै म्याङ्लुङ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छन् । म्याङ्लुङ–यासोक सडक–खण्ड अन्तर्गत तमोर नदीमा पुल निर्माणका लागि ६ वर्षअघि सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्षमा काम सक्ने गरी सम्झौता भए पनि ठेकेदार कम्पनीले निर्माणको काममा ढिलाइ गरेकाले अहिलेसम्म पुल निर्माण सम्पन्न भएको छैन । पुल निर्माण नहुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिले पुल निर्माणको कामबारे अनुगमन गरेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती भएको भन्दै यथाशीघ्र पुलको काम सक्न स्थलगत अवलोकन गरी सडक डिभिजन र ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराइएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जय तुम्बाहाम्फेले बताए । ‘पुल नहुँदा यात्रुलाई सास्ती छ’ उनले भने, ‘सडक बनेको वर्षौं भयो, गाउँमा गाडी पुगेको छैन ।’ म्याङ्लुङ–यासोक सडकको ट्रयाक खुलेको वर्र्षौं बिते पनि पुल नहुँदा घरैबाट सवारी चढ्ने स्थानीयबासीको सपना पूरा हुन सकेको छैन । पुल निर्माणसँगै दुई जिल्लाबासीलाई आवत– जावतमा सहज हुने तथा तेह्रथुमदेखि पाँचथरहुँदै ताप्लेजुङ तथा इलाम, झापासम्मको यात्रा गर्न सहज हुनेछ । तर त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । ठेकेदार कम्पनी र सरकारी तवरबाट राम्रो प्रयास नभएकाले पुल निर्माणको काम सुस्त गतिमा मात्रै अघि बढेको स्थानीयबासी गुनासो गर्छन् । निर्धारित समयभन्दा दोब्बर समय बिते पनि ठेकेदारको लापरबाहीले पुल निर्माणको काम आधा मात्रै भएको छ । अहिलेसम्म पुलको तीनवटा पिलर निर्माण भई ढलानको काम भएको छ । एकापट्टि पिलर बनाउन बाँकी छ । सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख विष्णु काफ्लेका अनुसार पुलमा ९२ मिटर ढलान हुनेछ भने बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राखिनेछ । १३ करोड रुपैयाँ ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पटक–पटक म्याद गर्दै आए पनि अहिलेसम्म पनि काम सम्पन्न नहुनु दुःखद् भएको डिभिजन प्रमुख काफ्लेले बताए । ‘ठेक्का लागेको डेढ वर्षसम्म काम भएन’ उनले भने, ‘पछि बल्ल काम त थाल्यो, तर के–के कारण देखाउँदै फेरि पनि निरन्तर काम हुन सकेन ।’ आफूले पटक–पटक ताकेता गरे पनि पुलको कामले गति लिन नसकेको उनले बताए । पुल निर्माणको काम अहिले अलपत्र भइरहेको छ । पुल निर्माणमा अहिले कोही पनि नभएको स्थानीयवासीले बताए । पुल निर्माणको कामले म्याङ्लुङ–लुम्बुघाट सडक स्तरोन्नति भए पनि पाँचथरतर्फको बाटो स्तरोन्नति हुन सकेको छैन । यो पुल बनेपछि पाँचथर र तेह्रथुमका सदरमुकामको छिटो र सिधा सडक सम्पर्कसमेत हुनेछ ।