धरान । राजधानीमा ११ वर्षिय बालकको अपहरण पछि हत्या गर्ने दुई युवा प्रहरीको मुठभेटमा मारिएका हुन् वा होइनन् भन्ने शंका उत्पन्न भएको छ । पेप्सीकोलाबाट आइतबार अपहरणमा परेका निशानको सोमबार हत्या भएको पुष्टी भएको थियो । सूर्यविनायक–८ पाइलटबाबाको आश्रम जाने बाटोको जंगलमा प्रहरीमाथी पेस्तोल प्रहार गरेपछि प्रहरीले गरेको जवाफी फायरिङमा हत्यारा भनिएको गोपाल तामाङ र अजय तामाङ मारिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ। नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन। महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ। घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए। नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे। ‘यसलाई आधार मान्ने हो भने त महाशाखाको टोलीले नै अपहरणकारीलाई आफूसँगै लिएर गएको संकेत मिल्छ,’ ती अधिकारीले भने।