विराटनगर । विराटनगरको सहकारी मार्गमा रहेको मोरङ सहकारी अस्पतालमा कम तौल भएको नवजात शिशुको सफल उपचार भएको छ ।
हस्पिटलले ९ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार गरेर बचाएको हो । विराटनगर–२ घर भएकी रुवी कर्ण मोरङ सहकारीमा १४ साउनमा भर्ना भएकी थिइन् । उनको सोही दिन प्रसुति तथा स्त्री रोग विशेज्ञ डा. बालकृष्ण साहको टिमले शल्यक्रिया गरी कम तौल भएको बच्चा निकालेको थियो । अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीणकुमार झा र डा. अन्सु घिमिरको टिमले उपचारपछि नवजात शिशु अहिले ठीक भएको अस्पतालका मेनेजर धरणि खनालले बताए ।
एक साता बढी उपचार गरेर मङ्गबार डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो ३ सय ग्राम पुगेको उनले बताए । उनले भने, ‘विशेषज्ञको टिमले अब बच्चालाई कुनै खतरा नभएको भनेपछि डिस्चार्ज गर्न लागेका हौँ ।’ अहिले बालिकाले आमाको दूध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अङ्गले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको खनालले बताए । कम तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन सक्ने चिकित्सकले बताए । उनीहरू स्वास्थ्यका हिसाबले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. झाले बताए । डा. झाका अनुसार कम तौल भएका बच्चालाई चिसोबाट बचाउनुपर्ने सुझाव दिएका छन् । ‘कम तौल भएका बच्चामा शरीरलाई तातो बनाउने ब्राउन फ्याटको कमी हुन्छ,’ डा. झाले भने,‘ब्राउन फ्याट कम हुने भएकैले त्यस्ता बच्चालाई चाँडो चिसोले समाउँछ । तसर्थ कम तौल भएका बच्चालाई चिसोबाट बचाउन ध्यान पु¥याउनुपर्छ,’ डा. झाले भने ।
उपचार निःशुल्क
आर्थिक अवस्था नाजुक भएको कर्ण परिवारको उपचारमा मोरङ सहकारी हस्पिटलले एनआईसीयू, बेड भर्ना र चिकित्स शुल्क मिनाहा गरिदिएको छ । उपचारमा लागेको औषधीको खर्च भने डा.असित घिमिरले सहयोग गरेका छन् । घिमिरे लायन्स क्लब अफ विराटनगर मोरङका अध्यक्ष समेत हुन् ।