नक्कली भ्याट बील प्रकरण

भद्रपुर । नक्कली भ्याट बील प्रयोग गरी अबैध कारोबारको आरोपमा पक्राउ परेका व्यापारीको गोदाममा छापा मारिएको छ । झापा भद्रपुरका व्यापारी सञ्जीव घोषले सञ्चालामा ल्याएको भद्रपुर स्थित शिव स्टोरमा राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीले छापा मारेको हो ।

क्षेत्रीय कार्यालयबाट आएको टोलीले बिहीबार अपरान्ह भद्रपुर बजारमा रहेको गोदाममा छापा मारिएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए । घोष पक्राउ परेपछि आवश्यक छानविनको लागि गोदाम खोलेर हर्दा खालि रहेको पाइएकोले सिल नगरिएको उनले जनाए ।

टोली सिल गर्न गएको थियो तर, गोदामलार्इ उहाँहरुले खोलेर देखाइदिएकोले सिल गर्नु नपरेको उनको भनाइ छ । सामान भन्दा पनि कागजपत्र बढी नक्कली देखिएकोले गहिराइसम्म पुग्नको लागि अनुसन्धान जारी रहेको उनले जनाए ।

अनुसन्धान जारी रहेकोले कस्तो कारबाही हुन्छ भन्ने विषयमा केहीदिन समय लाग्ने उनले जानकारी दिए । अनुसनधानको अन्तिम टुङ्गो नलागेसम्म शिव स्टोरको कारोबार बन्द गरिएको उनले जनाए ।

लामो समय देखि भन्सार छलि ल्याएको सामान बिक्रि गर्ने गरेको उनीमाथी आरोप लागेको छ । घोष पक्राउ परेपछि सुनसरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हाल उनि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीले घोषका दुई सहयोगी भद्रपुरका महोमद युवराम र डाईभर विकास विश्वकर्मालाई कुर्था सुरुवाल बोकेको मारुती भेन सहित आइतबार इटहरी बसपार्कबाट पक्राउ गरी आन्तरीक राजश्व अनुसन्धानमा बुझाएको थियो ।

उनीहरु दुबैलाई मुद्धा दायर भएको राजश्व अनुसन्धान कार्यलय इटहरीले जनाएको छ । अनुसन्धानको क्रममा घोषको नाम आएपछि व्यापारी घोषलाई पक्राउ गरीएको कार्यालय प्रमुख भण्डारीले बताए । घोषले एउँटै नम्बरका भ्याट बिल ५ वटा सम्म बनाएको फेला परेको उनले जनाए ।

पछिल्लो समयमा कर भ्याट छल्ने व्यापारीलाई निगरानी बढाईएको उनको भनाई छ । लामो समय देखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छलि गरि ल्याएको अबैध कपडा पक्राउ परेको थियो । बारम्बार अबैध लत्ताकपडा भित्राउने घोषले अबैध रुपमा भ्याट समेत छलि गरेको कारण उनलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको उनको भनाइ छ ।

भद्रपुर छोटी भन्सार तथा सुनसरीको सीमा क्षेत्रबाट उनले अबैध सामाग्री भित्र्याउने गरेको भन्दै प्रहरीले उनी बिरुद्ध निगरानी बढाउन थालेको थियो ।

घोषलाइ छुटाउन चलखेल प्रहरी हिरासतमा रहेका घोषलाई छुटाउन व्यापारी सङ्गठनका प्रमुख, राजनीतिक दल, कारोबारीहरुले आन्तरिक कसरत शुरु गरेका छन् । पक्राउ परे लगत्तै घोषलाइ भेटेर आवश्यक योजना तयार पारी केन्द्रीय नेताहरुलाइ समेत लट्याउन खोजिरहेको व्यापारी स्रोतले जनाएको छ । ठुलो आर्थिक क्षति नहुने गरी गत शनिबार र आइतबार बरामद भएको सामानको मात्र जरिवाना तिरेर थुनाबाट निकाल्ने कोशिस गरिरहेको घोष निकट स्रोतले जनाएको छ ।

अर्को तर्फ अगुवाहरुले मान्छे हेरेर काम गर्ने गरेको प्रति भद्रपुरका केही व्यापारीले आपत्ती जनाएका छन् । भद्रपुरमा ठुला घट्ना भएपनि कानमा तेल हालेर बस्ने अगुवा व्यत्तिहरु अहिले घोष पक्राउ परेपछि मुद्दा कमजोर पारी छुटाउनको लागि स्थानीय देखि केन्द्रसम्म लागि परेको देख्दा उनिहरू  बीच आर्थिक तालमेल हुनसक्ने आशङ्का गरेका छन् । उनिसँग मिलेर काम गर्दै आएका सबै अतालिएका ती व्यापारीले दाबी गरेका छन् ।

घोष पक्राउ परेपछि कारोबारमा संलग्न भारतीय सवारी साधनलाइ भद्रपुर क्षेत्रबाट भारत भगाइएको छ । भारतीय नम्बर उल्लेख गरिएका सवारी साधनमा पनि कारबाही पर्ने डरले उनका सहयोगीले त्यस्ता साधन भारत पठाएको व्यापारीले जनाएका छन् ।