विराटनगर । असार, साउन र भदौ महिनाभरि नदी नालाबाट गिट्टी बालुवा उत्खनन् गर्न सरकारले प्रतिबन्ध लगाएको भएपनि मोरङको केराबारीमा तस्करले प्रहरीको आँखा छलेर अवैध उत्खनन् गर्दै आएका छन् । रातिको समय र बिहानी पख केराबारी गाउँपालिकामा पर्ने खदम खोलामा तस्करहरुले प्रहरीको आँखा छलेर अवैध उत्खनन गर्ने गरेका छन् । केराबारी गाउँपालिका ७ र ८ वडाको बीचमा रहेको खदम खोला र ३, ९ वडामा पर्ने हतुवा खोलाबाट अवैध रूपमा उत्खनन् गर्दै गरेको ८ ओटा सवारी साधान इलाका प्रहरी कार्यालय केराबारीले बिहीबार नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको छ । ‘अवैध रुपमा खोलाजन्य पद्धार्थ ढुङ्गा र बालुवा उत्खनन् गर्दै गर्दा सवारी साधन नियन्त्रणमा लिएका हौं,’ इप्रका केराबारी प्रमुख सई दीपक यादवले भने, ‘प्रहरीको आँखा छल्न पाए सरकारले प्रतिबन्ध लगाएको महिनासमेत नभनी उत्खनन् गरिहाल्दछ ।’ उनले भने, ‘प्रहरी कुनै कामले व्यस्त भयो भने तस्कर खोलामा पुगिहाल्छ । अनि अवैद्य उत्खनन् सुरु गर्छन् ।’ प्रहरीले ढुङ्गा गिट्टी बोक्ने ३ ओटा हाइवे र पाँच ओटा ट्याक्टर खोलामा अवैध रूपमा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको यादवले जानकारी दिए । प्रहरीले ना. ७ ख २६२७, ना ७ ख. ५०१४ र ना.७ ख. ६०० नम्बरको तीन ओटा हाइवा र को २ त ६४९०, को २ ज ५४११, को २ ज ६३७६, ना ६ ज ४२७५, ना ५ ज ४१११ नम्बरको पाँच ओटा ट्रयाक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिहीबार केराबारी गाउँपालिकामा पठाएको सई यादवले जानकारी दिए । प्रहरीका अनुसार साँझ, राति र बिहान झिसमिसेमै तस्कहरुले अवैध उत्खनन् गर्ने गरेका छन् । असारमा मात्र १८ ओटा सवारी साधन नियन्त्रणमा लिइएको हो । मोरङमा सबैभन्दा बढी प्राकृतिक स्रोतको दोहन हुने क्षेत्र केराबारी गाउँपालिका हो ।