विराटनगर / बचतकर्ताले जम्मा गर्न दिएको लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम सहकारी बचत तथा ऋण सहकारी लि. का सञ्चालक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै मोरङ प्रहरीमा जाहेर दिनको संख्या बढेको छ ।

लामो समयदेखी विराटनगरको बाटा रोडमा सञ्चालनमा आउँदै गरेको सहकारीले लाखौ रुपैयाँ बचतकर्ताहरुको रकम संकलन गरेको थियो । रकम संकलन भएको पैसाँ लिएर फरार भएका सञ्चालक श्रेष्ठलाई प्रहरीले केही दिन अगाडी विराटनगरबाट पक्राउ गरेको हो ।

फरार रहेका सञ्चालक श्रेष्ठ पक्राउ परेसँगै मोरङ प्रहरी कार्यालयमा पीडित भएका बचतकर्ताहरुले दैनिक जसो मोरङ प्रहरी कार्यालमया जाहेर दिन आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डियसपी निशान्त थापाले जानकारी दिए । बिहीबासम्म ६४ जना पीडितहरुले सहकारीबाट ठगिएको जाहेरी लिएर मोरङ प्रहरीमा दर्ता गराएका छन् ।

६४ जनाको मात्र ६४ लाख रुपैयाँ भन्दा बढी रकम सहकारीले लिएको देखिएको प्रहरीको भनाई छ । ‘बिहीबारसम्म ६४ जनाको जाहेरी आएको छ,’ डियसपी थापाले भने, ‘अझै आउन सक्छन् ।

यस सहकारीबाट अझै धेरै जनाको रकम लिएको हुनपर्दछ ।’ विराटनगरलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको प्राइम सहकारीले बचतकर्ताको लाखौ रुपैयाँ लिएर सञ्चालक फारर भएपछि लामो समयदेखी सहकारी बन्द भएको थियो । पीडितहरुले आफुले जम्मा गरेको रकम पाउनुपर्ने र ठगि गर्ने सञ्चालकहरुलाई कारबाहीको माग राख्दै दिएको जाहेरीको आधारमा सञ्चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । यस सहकारीमा सात जना सञ्चालक रहेको बताइएको छ । अन्य सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि यसमा संलग्नता देखिएकोले खोजी कार्य भइरहेको बताइएको छ ।

प्रहरीले सहकारीका सञ्चालक श्रेष्ठलाई ठगि अन्तर्गत सात दिनको म्यात थप गरेको छ । पक्राउ परेका सञ्चालक श्रेष्ठ विरामी परेकोले विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । सहकारीमा एक जनाको १० लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको छन् । विराटनगरकी रन्जना देवी सरदारले सहकारीमा १० लाख ६ हजार रुपैयाँ जम्मा गरेको पैसाँ लिएर सञ्चालकहरु फरार भएको भन्दै प्रहरीमा जाहरी दिएकी छिन् ।

त्यस्तै विराटनगरकी देवीमाया अधिकारीको १ लाख ८८ हजार, रेणुका रेग्मीको चार लाख, रानी कुमारी रौनियराको ७ लाख, विनय चौधरीको ४ लाख ६४ हजार, सुनिता सिंहको २ लाख, मङगत रामको १ लाख ५ हजार, प्रमिला तामाङको १ लाख ३७ हजार, काजल कुमारी दत्तको २ ला ३४ जहार, विन्ध्या सुवेदीको ४५ हजार १ सय ३० रुपैयाँ, मोहन कुमार अग्रवालको ३ लाख १ हजार, कृष्ण प्रसाद सुवेदीको ५४ हजार, तारदेवी सुवेदीको ५३ हजार, रन्जिता जैसवालको २ लाख ४९ हजार लिएर सञ्चालकहरु फरार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । सहकारीबाट ठगिएका बचतकर्ताहरु अहिले दैनिक जसो जाहेरी दिन प्रहरी कार्यालयमा आउने गरेको प्रहरीले जनाएको छ । अझै धेरैले जानकारी नपाएकोले यो संख्या अझै बढने प्रहरीले भनाई छ ।