भद्रपुर । प्रहरीले झापाको भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १ लाख ७० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतको गलगलिया हुदै भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट भद्रपुर बजारतर्फ भित्राइएको तीन बोरा लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोली बरामद गरेको जनाइएको छ । रेडिमेट र सटिङ्गसुटिङ्ग लगायतको कपडा भद्रपुरकै व्यापारीले ल्याएको वडाका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए । बरामद गरिएको तीन वोरा कपडालाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । केही समययता भद्रपुरमा तस्करी गतिविधि रोकिएको थियो । तर, अहिले फेरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ रहेकै बेला तस्करी गतिविधि हुन थालेको छ । भद्रपुरका बिल्टु नाम गरेका व्यापारीको सामान भएको बुझिएको छ । पछिल्लो समय भन्सारमा सामान नल्याइ भन्सार छलेर सामान भित्र्याउने गरेका छन् । एक महिना देखि झापा लगायत पूर्वमा तस्करी गतिविधिको समाचार सार्वजानिक भएपछि अतालिएका कारोबारीले प्रहरी प्रशासनलाई हार गुहार गर्दै आइरहेका छन् भने कुनै कारोबारी काठमाडौसम्म गएर तस्करी गर्न पाउ भन्दै नेताको पछि लागेको पाइएको छ ।