काठमाडौं/ स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामकाे बियर बनाएर बेचिरहेको पाइएकाे छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको खुलेकाे हो ।
बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। Turbinenbräu नामको स्विजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्डरहर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।
यता नेपालमा मदिरा उत्पादक कम्पनीले वीरेन्द्र बियर नाम राखेर बेचेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आपत्ति जनाएको छ।
संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालका स्वर्गीय राजा श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको नामक मदिरा उत्पादक कम्पनीले ‘टुरविनेनब्राउ’ नाम राखी बियर बिक्रीवितरण गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा हिजोबाट प्रकाशित र प्रसारित भएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।’
यसका साथै संगठनले उक्त घटनालाई नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कारको संज्ञा दिएको छ भने यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ। यदि यो गलत कार्य समयमा नै बन्द नभए कडा संघर्षमा उत्रने विद्यार्थी संगठनले चेतावनी दिएका छन्।
शिखरन्यूजबाट































