तरहरा/पूर्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको इटहरीस्थित तालतलैयामा पर्यटन मिनी महोत्सव हुने भएको छ । विकास निर्माणकर्ताहरूको सञ्जाल नामक स्थानीय युवाको संस्थाले महोत्सव गर्न लागेको हो । तालतलैयामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यहि चैत्र २५ गतेदेखि बैशाख १ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य गरी ५० हजार पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ भने ५० वटा स्टल रहनेछन् । विकास निर्माणकर्ताहरूको सञ्जालका अध्यक्ष बिशुधन राईका अनुसार पर्यटन प्रवर्धनसँगै स्थानीय उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण, स्थानीय कलाकारको कला उजागर गर्नेदेखि तालतलैयामा इ–लाइब्रेरी स्थापना गर्न सहयोग पुर्याउने गरी महोत्सव आयोजना गर्न लागिएको हो ।

इटहरी वडा नम्वर २ र ३, तालतलैया विकास तथा संरक्षण समिति, शान्तिनगर सामुदायिक वन समुह र सरस्वती सामुदायिक वन समुहको संरक्षकत्वमा सञ्चालन हुने मेलामा पूर्व नेपालका सबै जिल्लाका साथै भारतबाट पनि पर्यटक आउने आयोजकको अपेक्षा छ । कार्यक्रममा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै हाँस्यकलाकारहरुको समेत प्रस्तुती रहने आयोजक समितिका विशुधनराईले वताए ।

महोत्सव अवधिभर १६ लाख ६६ हजार खर्च तथा १८ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । कूल कारोबारको ३० प्रतिशत रकम तालतलैया विकास तथा संरक्षण समितिलाई इ–लाइब्रेरी निर्माणका निम्ति प्रदान गरिने जनाएको छ ।