काठमाडौं/ पुँजी बजारमा यो साता थोरै भए पनि खुशीयाली छाएको छ । निरन्तर ओरालो गतिमा लागेको सेयर बजार यस साता भने समग्रमा माथि जान सफल भएको हो । बजार लगातार घटेपछि सेयर भाउ सस्तो हुँदा किन्नेहरु पनि जुर्मुराएका हुन् । सस्तोमा सेयर किन्नेको संख्या बढ्दा पुँजी बजार समग्रमा वृद्धिक्रममा देखिएको हो । बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउने कार्यक्रम आउन सक्यो भने आगामी दिनमा नेप्से नयाँ गतिमा अघि बढ्ने धेरैको विश्वास छ ।

अधिक आपूर्ति, चर्कों बैंक ब्याजदर र लगानीकर्ताको गिर्दो मनोविज्ञानका कारण नै सेयर बजार लामो समयदेखि ओरालो यात्रामा लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता पहिलो दिन आइतबारको तुलनामा नेप्से सूचक ५१।७४ अंकले बढेर कारोबारको अन्तिम दिन बिहीबार १२२०।२९ विन्दुमा आइपुगेको छ । नेप्से सूचकका सँगै यस साता कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेका अनुसार कारोबार रकम गत साताको भन्दा ९.८५ ५ ले बढी हो ।

यस साता कुल १८० कम्पनीको १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १७३ कम्पनीको १ अर्ब ७२ करोड ५ लाख २८ हजार रुपैयाँ बराबरका ४६ लाख २ हजार ६ सय ३० कित्ता सेयर किनबेच भएका थिए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२३ अंकले बढेर २६०.८८ विन्दुमा आइपुगेको छ ।

कारोबार रकमका आधारमा यस साता नेपाल लाइफ इन्सुरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ। यस इन्सुरेन्सको १९ करोड ४४ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेड सबैभन्दा अघि छ । नेपाल बैंकको २ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको हो ।