पानवारी । प्रथम शहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगितामा पहिलो चरणको खेल सकिएपछि प्रि क्वाटर फाइनलको खेल सुरु भएको छ । शनिबार पूर्वाञ्चल क्याम्पस धरानको खेल मैदानमा भएको खेलमा महेन्द्र क्याम्पस ‘बी’, विजयपुर मावि र विरेन्द्र मेमोरियल कलेज विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
अखिल क्रान्तिकारी सुनसरीको आयोजनामा शनिबार पूर्वाञ्चल क्याम्पस धरानको खेल मैदानमा भएको प्रि क्वाटर फाइनल खेलमा विजयी हुदै तीनै टिम क्वाटर फाइनलमा पुग्न सफल भएका हुन् । शनिबार भएको पहिलो खेलमा विजयपुर मावि धरानले पब्लिक मावि फुुस्रेलाई १–० गोल अन्तरले पराजित गरेको हो । विजयपुरको तर्फबाट एलिन मगरले गोल गरेका थिए ।
त्यस्तै गरी शनिबार भएको दोस्रो खेलमा विरेन्द्र मेमोरियल कलेजले ट्राइब्रेकरमा धरान उच्च माविलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि ट्राइब्रेकरमा वीरेन्द्र मेमोरियल कलेज विजयी भएको हो । ट्राइब्रेकरमा वीरेन्द्रको तर्फबाट आङदावा शेर्पा, मनिष अधिकारी, दिपेश गुरुङ र विशाल राईले गोल गरे भने निरन बुढाथोकीको प्रहार गोल हुन सकेन । त्यस्तै गरी धरान उच्च माविको तर्फबाट सन्तोष लिम्बू र मनोज बस्नेतले मात्र गोल गरे भने प्रदीप पौडेल र मञ्जील गुरुङले गोल गर्न नसक्दा पराजित हुनु परेको थियो ।
शनिबार भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा ट्राइब्रेकरमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाई ४–३ गोल अन्तरले पराजित गरी महेन्द्र क्याम्सपस धरान ‘बी’ टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुवैटीमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरबाट निर्णय लिइएको थियो । ट्राइब्रेकरमा महेन्द्रको तर्फबाट अभिनय राई, विनोद लिम्बू, अजित लिम्बू र सूर्य लिम्बूले गोल गरे भने तुम्बोगेन लिम्बूले गोल गर्न सकेनन् । त्यस्तै गरी हात्तिसारको तर्फबाट मनिष बस्नेत, अर्पण तामाङ र किरण लिम्बूले गोल गरे भने राहुल राई र विशाल भूजेलले गोल गर्न चुक्दा टिम पराजित हुनुपरेको थियो ।
आज प्रिक्वाटर फाइनल खेलमा पब्लिक हाइस्कुल धरानका विरुद्ध धरान आदर्श कलेज, धरान मल्टिपल कलेजका विरुद्ध महेन्द्र बहुमुखि क्याम्पस ‘ए’, डिपोट क्याम्पस विरुद्ध विजयपुर मावि त्यस्तै जनता बहुमुखी क्याम्पस इटहरी विरुद्ध वीरेन्द्र ममोरियल कलेज धरानबीच खेल हुने आयोजकले जनाएको छ ।
सुनसरीका विभिन्न २५ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १५ गतेदेखि सुरु भएको थियो भने फाइनल खेल २५ गते हुने अखिल क्रान्तिकारी सुनसरी जिल्ला सचिव बुद्रोस लिम्बूले जनाए ।































