इटहरी/ बर्खायाममा इटहरीको टाउको दुखाई बनिरहने सुनसरीको शेरा खोलामा अब भने दिर्घकालिन रुपमा तटबन्धन निर्माण हुने भएको छ । प्रत्येक वर्ष शेरा खोलाको बाढी इटहरी छिर्दा इटहरीले करोडौँको क्षति ब्यहोदै आएको छ । अहिले शेरा खोलामा इटहरी उपमहानगरपालिका र जल उत्पन्न प्रकोप समितिले बाध निर्माण शुरु गरेसगै इटहरीको टाउको दुखाई बन्ने शेरा खोलाको समस्या हल हुने भएको हो ।

इटहरी र धरान उपमहानगरपालिकाको सिमाक्षेत्र भएर बग्ने यस खोलामा बाढी आउदा खोलाको सहत भन्दा कम उचाईमा रहेको जंगल क्षेत्र हुदै इटहरीमा बाढी पस्ने गरेको छ ।

जल उत्पन्न प्रकोप समितिले शेरा खोलाको पुलदेखि पाँच सय मिटरबाट बाध निर्माण गरिहरेको छ भने इटहरी उपमहानगरले खोलाको दुवै भागको जोखिम स्थानमा मात्र तटबन्धनको काम गरिरहेको छ । तटबन्धनसगै खोला जंगलको सतहभन्दा अग्लो भएकाले खोलाको उत्खन्न गर्ने काम पनि शुरु गर्ने तयारीमा छ ।

जसको लागी जिल्ला बिकास समितिले लगाउदै आएको खोलाको ठेक्का अब उपमहानगरपालिकाको जिम्मेवारीमा पर्ने भएकाले केही महिना भित्रै खोलाको ठेक्का दिएर उत्खन्नको काम शुरु गर्ने इटहरी उपमहानगरपालिकाका इन्जिनियर अर्जुन दाहालले बताए ।

खोला ठेक्का लगाएपछि उठेको राजस्वले शेरा खोलाको तटबन्धनमा थप बजेट हाल्ने योजना रहको उनले बताए ।

शेरा खोला नियन्त्रण गर्न इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठक समेत यसै खोलामा बसिसकेको छ । साथै इटहरीका सबै वडाका अध्यक्ष, प्रमुख र उपप्रमुखको बैठकले खोला तटबन्धनको लागी दिर्घकालिन रुपमा काम गर्ने योजना सहित ५० लाख बजेट छुटयइसकिएको छ ।

अहिलेसम्म जल उत्पन्न प्रकोप समितिले २८३ मिटर लामो तटबन्धन निर्माण गरिसकेको छ । अब भने इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय भए अनुसारको ५० लाख रुपयौ बजेटले ६ किलोमिटर लामो बाध निर्माण गर्ने छ । तर ५० लाख बजेटले खोलाको तटबन्धन भने पूर्ण रुपमा नहुने इटहरीकी उपमेयर लक्ष्मी गौतम बताउछिन ।

जसले लागी प्रदेश र राष्ट्रिय सरकारसँग पनि बजेट माग गरिने गौतमको भनाई छ ।

खोलाले बर्षेनी बगाएर थुपार्ने बालुवा तथा ढुगां गिट्टीहरुलाई समेत व्यवस्थित गर्ने विषयमा समेत उपमहानगरपालिकाले योजना अघि बढाउने बताएको छ ।

सेहेरा खोलामा तटवन्धन निर्माणले बाढीको जोखिम अब कम हुने इटहरीका स्थानीयवासीको अपेक्षा छ । गत साउन अन्तिम साता आएको बाढीका कारण इटहरी क्षेत्रमा ठुलो मानविय र जनधनको क्षति पुर्याएको थियो ।