पानवारी । सहिद स्मृति मावि धरानमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा आइतबारसम्म छैठौं दिनसम्म आइपुग्दा ४५ लाख आर्थिक सहयोग जुटेको छ । मंगलबारसम्म महायज्ञमा ४३ जनाले तुलादान गरेका छन् । पहिले पहिले पुराणमा तुलादान गर्ने भक्तजनहरु एकदमै कमै मात्रामा हुने गरेको भन्दै यसपाली धेरैले तुलादान गरेको प्रचार संयोजक बोधराज कुवरले बताएका छन् । महायज्ञमा मगलबार काठमाडौ निवासी रविकिरण र शशिकिरण रायमाझीले एक लाख एक हजार एक सय एघार रुपैया दान गरेका छन् । त्यस्तै काठमाडौ निवासी कृष्ण गोपाल श्रेष्ठले पनि एक लाख एक हजार एक सय एघार रुपैया दान सहयोग गरेका छन् । अनुपा प्रधानांग र उत्तम श्रेष्ठको परिवारले ५१ हजार एक सय, सहिद स्कुलका शिक्षक मेघनाथ न्यौपानेले ५१ हजार, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष अकलबहादुर मेन्याङ्बोको अगुवाईमा रकम संकलन गरी ३ लाख ९६ हजार ७ सय महायज्ञमा दान गरिएको थियो । सात दिनसम्म चल्ने महायज्ञ आज बुधबार समापन हुनेछ । महायज्ञमा दैनिक एक हजार भन्दा बढी भत्तजनहरुको उपस्थिति रहेको थियो भने महायज्ञको छैठौ दिन सबैभन्दा बढी १५ लाख रुपैया संकलन भएको थियो । महायज्ञबाट १ करोड आर्थिक संकलन गरी विद्यालयलाई कक्षा ११ र १२ मा स्तरोन्नती गर्ने तथा कक्षा ९ देखि कम्प्युटर विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको समेत कुवरले जानकारी दिएका छन् । महायज्ञ माघ १७ गतेसम्म चल्नेछ भने भागवत कथा वाचन प्रसिद्ध कथा वाचक पं. योगश भण्डारीले गरिरहेका छन् । २०१४ सालमा स्थापना भएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा वेसहारा, असहाय, आश्रित बालबालिकाहरुको बाहुल्यता छ । विद्यालयमा धेरैजसो निम्न आय स्तर भएका समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।