मोरङ/ मोरङको पथरीशनिश्चरेस्थित मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवशका अवसरमा आइतबार राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल र स्थानीय ब्लाष्ट सहकर्मी भूपेन्द्र तिम्सिनालाई सम्मानित गरिएको छ ।

कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रमकाबीच कँडेललाई सहकारी व्यक्तित्व सम्मान र नगरपालिकाको सूचना संयोजक समेत रहेका तिम्सिनालाई उत्कृष्ठ पत्रकार सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सांसद घनश्याम खतिवडा, जिल्ला वचत सहकारी संघका अध्यक्ष हरि सुवेदी, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, मनकामनाका संस्थापक अध्यक्ष तिलक वान्तवा, वर्तमान अध्यक्ष युवराज भट्टराई, कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले लगायतले दोसल्ला र सम्मानपत्रले उहाँहरुलाई सम्मानित गरेका हुन् ।

यसका साथै संस्थाले ज्येष्ठ वचतकर्ता, उत्कृष्ठ वचतकर्ता, ऋण कारोवारकर्ता, विभिन्न प्रतियोगितामा पुरस्कृत तथा उत्कृष्ठ अंक ल्याई उतीर्ण विद्यार्थी, रक्तदाता, सहकारी कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरेको छ । सो अवसरमा रक्तदान कार्यक्रम पनि भएको छ ।

यसैवर्ष एशियाली ऋण महासंघबाट एशियास्तरको एक्सिस व्रोन्ज प्राप्त गरेर सहकारी क्षेत्रमा नेपालमै चिनिएको मनकामनाको स्मारिकाको समेत लोकार्पण भएको छ ।

स्मारिका विमोचनपछि कार्यक्रममा बोल्दै सहकारी अभियन्ता प्रमुख अतिथि कँडेलले मनकामनको प्रगतिप्रति प्रसंसा गर्दै सहकारी संस्थाहरुको एकीकरण गरी सदस्यको दिगो आर्थिक उन्नतीका लागि उत्पादनका क्षेत्रमा लगानी समेत गर्नुपर्ने आम सहकारीको आवश्यकता औंल्याए ।