इटहरी । घिमिरे विष्ट वंश उद्धार केन्द्रीय समितिले आगामी चैत ४ गतेदेखि पितृहरूको उद्धार र वंशावली खोजका लागि सप्ताह पुराण लगाउने भएको छ । वराहक्षेत्रको चतरास्थित घिमिरे विष्ट बन्धुद्वारा निर्मित धर्मशालामा पुराण लगाइने छ । पुराण आयोजनाका लागि शनिबार इटहरीस्थित विष्ट कम्प्लेक्समा बसेको विष्ट बन्धुको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । समितिका केन्द्रीय अध्यक्ष टेकबहादुर विष्टको संयोजकत्वमा मूल समिति निर्माण भएको छ भने सात वटा उपसमिति निर्माण गरिएको छ । उपसमितिमा वंशावली, आर्थिक पूजा, प्रचारप्रसार, खाद्य व्यवस्थापन, स्वयम्सेवक तथा कार्यव्यवस्थापन उपसमिति गठन गरिएको छ । आगामी चैत्र ४ गते मण्डप पूजा, कलश यात्रा तथा भागवत कथा प्रारम्भ गरिने प्रचारप्रसार समितिका संयोजक धनबहादुर विष्टले जानकारी दिए । भागवत महापुराण रामनवमीका दिनसम्म लगाइने छ भने प्रमुख कथा वाचकका रूपमा आचार्य श्री आसुतोष खनालको उपस्थितिमा संगीतमय महापुराण आयोजना हुनेछ ।