शनिश्चरे । झापाको दमकमा जारी १ नम्बर प्रदेश स्तरीय औधोगिक ब्यापार एवं कृषि पर्यटन महोत्सवमा प्रदेशस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ ।

महोत्सवमा कला संस्कृतिको समेत प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाली गीतमा राखिएको नृत्य प्रतियोगिताको शुक्रबार पहिलो चरणको छनौट भएको सांस्कृतिक उपसमिति संयोजक विमल नेपालले जनाए ।

१५ वटा समूह रहेको प्रतिष्पर्धाको माघ ६ र ७ गते फाइनल हुनेछ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः ४० हजार, २० हजार र १० हजार तथा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सांस्कृतिक प्रस्तुति अन्तर्गत चर्चित हांस्यकलारका जितु नेपालले शुक्रवार समसामयिक विषयमा आफ्नो प्रस्तुति दिएका छन् ।

विहीवारबाट सुरु भएको महोत्सव माघ ८ गते सम्पन्न हुनेछ । महोत्सवको थप आकर्षणका रुपमा हेलिकोप्टर सवारका साथै उँट र घोडा सवार रहेका छन् ।

नेपथ्यको कन्सर्ट पनि

शान्तिको पक्षमा सांगीतिक प्रस्तुति चलाउँदै आएको पोखराको चर्चित संस्था नेपथ्य समूहले आफ्नो २५ औं स्थापना दिवशको अवसरमा ३ शहरमा कन्सर्ट गर्ने अभियान अन्तर्गत शुक्रवार दमकबाट कन्सर्ट थालेको छ ।

द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि नेपथ्य ब्याण्डले लामो समयसम्म विद्यालयको सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमलाई दमकको सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा प्रस्तुत गरेको छ ।

दमकका साथै नारायणगढ र भैरहवामा यसपटक व्यवसायिक रुपले कार्यक्रम गर्ने अभियान दमकबाट थालिएको कार्यक्रम संयोजक रविन श्रेष्ठले बताए ।

वाईवाईको मुख्य प्रायोजनमा हुने कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङ सहितका कलाकारले शान्तिमा केन्द्रीत रहेर आफ्ना प्रस्तुति दिएका छन् ।