फुटबल क्लब बार्सिलोना र रियल मड्रिड फुटबल क्लब एक अर्काका चीर प्रतिद्वन्द्वी हुन् । यी दुई टिमबीचको खेललाई एल क्लासिकोको नामले पनि चिनिन्छ । विश्वका धनी र सफल यी दुई क्लबबीचको प्रतिष्पर्धालाई एल क्लासिको भनेर पनि चिनिन्छ । च्याम्पियन्स लिगको फाइनलपछि विश्वमा सबैभन्दा धेरै हेरिने खेलमा यो खेल अर्थात एल क्लासिको पर्छ । यस खेललाई विश्व फुटबलका सबैभन्दा सफल फुटबलर रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेर्ने गरिन्छ । रोनाल्डो र मेसीबीचको सम्बन्ध राम्रो नभएको खबर बेला–बेलामा सार्वजनिक भैरहेको हुन्छ । तर दुवै खेलाडीले आफूहरु बीचको सम्बन्ध राम्रो भएको बताउँदै आएका छन् । सञ्चार माध्यमले दुवै खेलाडीको सफलता र उपलब्धिलाई लिएर तुलना गर्दै आएका छन् । शनिबार भएको खेलमा रियल मड्रिड आफ्नै घरेलु मैदानमा बार्सिलोनासँग ३–० ले पराजित भयो । तर खेल सुरु हुनुभन्दा र खेल भैरहेको बेलाका दुई वटा दृश्यलाई भने कमैले मात्र ध्यान दिए । खेल सुरु हुनुभन्दा पहिले रोनाल्डो र मेसीले हात मात्र मिलाएनन्, गला नै मिलाएका थिए । त्यस्तै खेल भैरहँदा लड्न पुगेका मेसीलाई रोनाल्डोले उठाएको दृश्यले यीनीहरुबीच आत्मियताको झलक देखाएको थियो ।