इलाम । निर्वाचन आयोगले एकै व्यक्तिको मतदाता नामावली दुई स्थानमा पठाएको पाइएको छ । मतदान केन्द्रमा कर्मचारीहरु पुगेर परिचय-पत्र वितरण गर्ने क्रममा यस्तो भेटिएको हो ।
इलाम नगरपालिका-५ की लाक्पा दिक्की तामाङ्गले सधै मतदान गर्ने केन्द्र नजिकैको साविक बरबोटे गाविस केन्द्र हो । तर, यस पटक भने उनलाई मतदान गर्न समस्या परेको छ ।
साविक केन्द्रमा पनि उनको मतदाता नामावली कायमै छ । यसपाली इलाम नगरपालिका-७ बालमन्दिर केन्द्रमा पनि उनको मतदाता नामावली छ । मतदाता नामावली मात्र होइन, मतदाता परिचय पत्र नै दुवैतिर छ ।
बरबोटे केन्द्रमा मत हाल्ने गरी रहेको मतदाता नामावलीमा उनको मतदाता नं. १९९७६१०० रहेको छ भने बालमन्दिर केन्द्रमा मतदान गर्ने नामावलीमा १४२६३६४३ छ ।
मतकेन्द्रको दूरीसमेत नजिकै रहेकाले उनी कुन केन्द्रबाट मतदान गर्ने भन्नेमा समस्या छिन् । उनको निर्वाचन क्षेत्र भने जुनबाट मतदान गरेपनि इलाम क्षेत्र नं. २ हो । जुन बाम गठबन्धनका उम्मेदवार सुवास नेम्बाङ उम्मेदवार बनेकाे क्षेत्र हाे ।
उनको मात्र होइन छिमेकी बालकुमारी राईको पनि अर्को केन्द्रमा पनि मतदाता नामावली र परिचय पत्र छ ।
उनलाई पनि त्यही समस्या छ, कहाँबाट मतदान गर्ने । राईको साविक बरबोटे केन्द्रमा रहेको मतदान गर्न पाउने मतदाता नामावलीमा १४६९९१४ र बालमन्दिर मतदान गर्ने मतदाता नामावलीमा १७९७३७६४ रहेको छ ।
आफूले केन्द्र सार्नको लागि निर्वाचन कार्यालयमा कहिल्यै निवेदन नदिएको र दुई तिर आफ्ना नाम र परिचय-पत्र रहेको कुरा पनि त्यहीका कर्मचारीले सुनाएपछि मात्र थाहा पाएको लाक्पा दिक्कीले बताइन् ।
यसरी एकै व्यक्तिको नाम मतदाता नामावलीमा दुई-दुई ठाउँमा रहनुले आयोगले तयार पारेको मतदाता नामावली कति सत्यको नजिक छ भन्ने प्रश्न उब्जाएको छ ।
नजिक नजिकको केन्द्रमा नाम दोहोरिंदा दोहोरो मतदान हुने सम्भावन पनि रहेको भन्दै आशंका व्यक्त गरिएको छ । यता निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्ले भने सफ्टवेयरले एकै व्यक्तिको नाम दोहोरो नलिनु पर्ने भएपनि त्रुटी भएर दुईतिर नाम आएको बताए ।