रियाद/ साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ । साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वारा नेतृत्व गरेको विद्रोहले इरानको सहयोग प्राप्त विखण्डनकारी हुठी लडाकूबाट यमनलाई मुक्त गर्ने विश्वास लिएकोे,” साउदी अरबको एसपिए न्यूज एजेन्सीले जनाएको छ । विज्ञप्तिमा ‘इरानबाट सहयोगप्राप्त’ यमनी हुठी समूहद्वारा सोमबार मारिनुभएका पूर्व राष्ट्रपति सालेहको बारेमा केही जनाइएकोे छैन । यमनमा करिब ३३ बर्ष शासन गरेका सालेहले सन् २०१४ पछि यमनी सिया हुठी विद्रोहीको सहयोग लिनुपूर्व साउदी अरबको सहयोगी थियाे । सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जनालाई सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको, यमनीगृह मन्त्रालयले सोमबार जनाएको थियो । पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए । इरानले यमनी हुठी विद्रोहीलाई हतियार दिएको भन्ने साउदी अरबको भनाईलाई खण्डन गर्दै आएको छ ।