काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ मुसलमान देश विरुद्ध लगाएको यात्रा प्रतिबन्धको निर्णयलाई समर्थन गर्दै लागु गराउन निर्देशन दिएको छ ।
यसअघि तल्लो अदालतहरुले यस निर्णयमाथि रोक लगाएका थिए तर सर्वोच्च अदालतका नौमध्ये सात न्यायधीशले ट्रम्प प्रशासनको यो फैसलालाई स्वीकार गरेपछि अब भने यसलाई लागु गरिने भएको हो । तर चाड, ईरान, लीबिया, सीरिया, सोमालिया र यमनमाथिको यात्रा प्रतिबन्ध सम्बन्धी अझै कानूनी चुनौतिहरु बाँकी रहेको बताइएको छ ।
जनवरीमा सत्ता सम्हालेपछि राष्ट्रपति ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी विवादास्पद नीति जारी गर्ने घोषणा गरेका थिए ।
उनको यस निर्णयप्रति धेरैले विरोध जनाएपनि उनी पछि हटेका थिएनन् । तल्ला अदालतहरुले समेत यसलाई ट्रम्पको मुसल्मान विरुद्धको नीति भन्दै खारेज गर्दिएका थिए ।
अब भने यसै हप्ता सेनफ्रेनसिस्को र रिचमंडमा यसलाई कानूनी रुप दिनेबारे सुनुवाई हुने बताइएको छ ।
अमेरिकी अधिवक्ता जेफ सेसनले सर्वोच्चको यस निर्णयलाई अमेरिकी जनताका सुरक्षाका हिसाबले एकदम सही भएको बताएका छन् । तरपनि हालै ट्रम्पले गरेका मुसल्मान विरोधी ट्वीटका कारण यसको विरोध गर्ने पनि थुप्रै छन् । गत सेप्टेम्बरमा पनि ट्रम्पले ९० दिनका लागि मुसल्मान शरणार्थीहरुलाई अमेरिका प्रवेश गर्नमा प्रीतबन्ध लगाएका थिए । त्यसकारण ट्रम्प खुलस्त रुपमा मुसल्मानहरुको विरुद्धमा लागिरहँदा पनि सार्वोच्चले उनको समर्थन गरेकामा धेरैले आपत्ति जनाएका छन् ।