झापा । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रुपमा रहेको झापा ५ स्थानीय रुपमा मात्र नभएर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत नियालिएको क्षेत्रमा पर्दछ । ओलीले साँझसम्म घरदैलो नगरेपनि यस क्षेत्रका प्रदेश क का अर्जुन राई र ख का हिक्मत कार्की सहितका नेता कार्यकर्ताहरुले भने साँझसम्मको मतदाता भेटघाट जारी राखेका छन् ।
एमाले अध्यक्ष ओलीदेखि नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, पूर्व सञ्चार मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की, नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा लगायतका कारण झापा चर्चामा छ । झापामा अन्य जिल्लामा भन्दा फरक गठबन्धन रहेको छ । अहिले विशेष गरी झापामा बामपन्थी देशभक्तहरुको संयुक्त गठबन्धन र नेपाली काँग्रेस एकलबीच प्रतिस्पर्धाका लागि घरदैलो अभियान रफतारमा छ । ओली आफव्नो क्षेत्रमा मंगलवारदेखि शनिवारसम्म मतदाताहरुसंग मत माग्नमा ब्यस्त रहे । एमालेको पकड रहेको र दोस्रो संविधानसभा निर्वाचनमा समेत यहि क्षेत्रबाट जित हासिल गरेका ओली फराकिलो मतान्तरले जित्नेमा विश्वस्त छन् । क्षेत्र नम्बर ५ अन्र्तगत दमक नगरपालिका र गौरादह नगरपालिकाको १ देखि ८ वटासम्मका वडा, कमल गाँउपालिका र गौरीगन्ज गाँउपालिकाको ३,४, ५ र ६ नम्बर वडा पर्दछन् । यसमा स्थानीय तहको निर्वाचनलाइ आधारमान्दा वाम गठबन्धन ५२ हजार ८ सय ११ र नेपाली कांग्रेसले २१ हजार १ सय ५१ मत प्राप्त गरेको छ । यहाँ मतान्तर ३१ हजार ६ सय ६० रहेको छ । ओलीको राष्ट्रिय प्रभावका कारण यो अन्तर अझ बढ्ने ओलीको निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापा बताउछन् । १६ बर्ष अघिदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा रहेका राजनीतिका लागि नयाँ अनुहार ठानिने कांग्रेसका खगेन्द्रपाण्डव अधिकारी ओलीको प्रतिस्पर्धि रहेका छन् ।