मोरङ / निर्वाचनका लागि मोरङमा सुरक्षा व्यवस्था अझा बढी कडा बनाइएको छ । मतदाताहरु र उम्मेदवारलाई निर्धक्क रुपमा मतदान केन्द्रमा गएर मत हाल्नको सुरक्षा व्यवस्था कडा बनाइएको मोरङ प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दे नेपाली सेनाले गाँउ गाँउमा गस्ती समेत थालेको छ । मोरङका १७ स्थानीय तहलाई विभिन्न १२ ठाँउबाट नेपाली सेनाले सुरक्षा घेरा अन्तर्गत राखेर गस्ती गर्ने जनाइएको छ । मतदान स्थल, मतदान केन्द्र, मतगणना स्थल र उम्मेदवारलाई तीन घेराका सुरक्षा अन्तर्गत नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने बताइएको छ । त्यसैगरी, निर्वाचन नजिकिदै गर्दा मोरङमा चेकजाँचलाई पनि नियमित बनाउन थालिएको छ । मोरङका मतदान स्थलहरुमा सुरक्षा ब्यवस्थाका लागि मोबाइल टोली समेत परिचालन गरिएको छ । सिमापारीबाट हुने तस्करी र अपराध नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी, भारतीय सशस्त्र सीमा बल एसएसबी र नेपाल प्रहरीले दशगजा क्षेत्रमा गस्ती थालेका छन् । सीमा सुरक्षा कार्यालय विराटनगरका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले मोरङको करिब ६३ किलोमिटर सीमाक्षेत्रमा छुट्टाछुट्टै युनिट बनाएर गस्ती गर्ने गरिएको बताए । मोरङमा तीन सय मतदान स्थल र सात सय ५८ वटा मतदान केन्द्रहरु रहेका छन् ।