भद्रपुर । झापा जिल्लाको राजमार्ग तथा सहरी क्षेत्रमा निर्वाचन आचारसंहिताको उल्लघंनका घटनाहरु बढन थालेको प्रति सरोकारवाला निकायले चासो देखाएका छन् । मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बिषयमा जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार आयोजना गरेको सर्वपक्षिय बैठकमा सहभागि सरोकारवाला निकायले चासो देखाएका हुन् ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति राम कट्टेलले जिल्लामा अन्य कार्यक्रमको नाममा आचारसंहिताको ठाडो उल्लंघन भएकोमा आपत्ति जनाएका छन् । उनले आचारसंहिताको बारेमा निर्वाचन कार्यालय र झापा प्रशासनलाई लिखित रुपमा जानकारी गराएपनि कार्यान्वयनमा नआएको गुनासो पोखेका छन् । निर्वाचान आचारसंहितामा कडाइ गराउनुका साथै जिल्लामा भइरहेको मतदाता शिक्षा कार्याक्रमलाई समेत प्रभावकारी बनाउने उनले आग्रह गरे । निर्वाचन आचारसंहितामा कडाइ र मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारावाला निकायले आग्रह गरेका थिए ।
एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले आचारसंहिताको पालान नभएको उल्लेख गर्दै मतदाता शिक्षा कार्यक्रम समेत प्रभावकारी नभएको बताए । कार्यक्रममा माओवादी केन्द्रका विजय साम्पाङ्ग, राप्रपाका बाबुराम पराजुली, राप्रपा (प्रजातान्त्रिक) का विश्वनाथ श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आचारसहिता र मतदाता शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने बताएका छन् । प्रजिअ तिवारीले आचारसहिता उल्लघनका घटना हुन नदिन निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग सहकार्यमा काम भइरहेको जानकारी गराउँदै सार्वजनिक स्थलमा निर्वाचन आचारसंहिता विपरित राखिएको पार्टीका झण्डा, व्यानर हटाइने बताए ।
निर्वाचन आयोगले झापा जिल्लामा केन्द्रिय निर्वाचन अनुगमन समिति खटाएको छ । आयोगले सह–न्यायधिवक्ता धुव्रकुमार चौहान र सहसचिव केशवप्रसाद दाहाललाई खटाएका छन् । मंसीर ७ गते झापा आएका चौहानले झापा क्षेत्र नम्बर १,२, ३ र दाहालले क्षेत्र नम्बर ४, ५ को अनुगमन गरिरहेको छ । अनुगमनमा खटिएका दुवै जनाले झापामा अन्य जिल्लाको तुलनामा आचारसंहिताको उल्लघन नभएको जानकारी गराउँदे उल्लघंन भएको ठाँउमा निगरानी बढाइएको जानकारी गराएका छन् । केन्द्रिय अनुगमन समिति चौहानका अनुसार जिल्लाका राजमार्ग र सहरी क्षेत्रमा झण्डा र व्यानर राखेर केही उल्लघंनका घटना भएको बताए । आचारसंहिता उल्लघन गर्ने दल तथा दलका उम्मेदवारलाई निर्वाचन आयोगको निर्वाचन कानुन बमोजिम कार्वाही गरिने बताए । उनले आचारसंहिता उल्लघन नगरी दिन जिल्लाका सबै राजनीतिकदलहरुलाई आग्रह समेत गरेका छन् ।