शनिश्चरे/प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हुन ८ दिन बाँकी रहदा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओली मतदाताहरुसँगको घरदैलो अभियान थाल्न बुधबार गृह जिल्ला झापा आउने भएका छन् । झापाको निर्वाचन क्षेत्र नम्वर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओली केन्द्रीय राजनीतिमा व्यस्त हुनु परेकाले बुधबारदेखि मात्र आफनो निर्वाचन क्षेत्रका मतदातासंग भेटघाटमा सहभागि हुने भएका हुन् । बिहान दमकमा एमालेले निकट नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटी र माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको खेलकुद कार्यक्रम र महिला संगठनहरुले आयोजना गरेको सभालाई नेता ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा खेलाडीहरुले काता सहितका बिभिन्न खेल प्रर्दशन गर्ने नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिपेन्द्र दाहालले जनाए ।

अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको महिला सभालाई समेत अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले दमक नगर उपसचिव लीला दाहाल ढुङगेलले जानकारी दिइन् । एमाले निकट अखिल नेपाल महिला संघ, माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी )र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संयुक्त रुपमा सभाको आयोजना गरेको छ । ओली मंसिर १५ गते बिहान दमक ३ स्थित आमचोक, दमक ९ स्थित चियादोकान र दिउँसो वडानम्वर १० को संगम चोकको कोणसभालाई सम्वोधन गर्ने वामगठबन्धन भित्रको माओवादी केन्द्रले जनाएको छ । यसैगरी, मंसिर १६ गते बिहान साविक लखनपुर र दिउँसो दमक ६ स्थित नमूना मार्गमा हुने कोणसभालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको सामानुपातिक तर्फका उम्मेदवार होमबहादुर थापाले जानकारी दिएका छन् । एमाले, माओवादी केन्द्रको वाम गठवन्धनमा राप्रपा नेपाल समेत मिसिएर झापा ५ का लागि नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीसँग चुनावी प्रतिष्पर्धा गर्ने अभियान छ ।