ताप्लेजुङ /ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको अति दुर्गम चार मतदान स्थलको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम फुङ्लिङ ल्याईएको छ ।

हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालीका ७ मा रहेको ग्याब्ला, याङ्मा, घुन्सा र ओलाङ्चुङगोलाको मतदान स्थलमा रहेका मतपेटिका हेलिकोप्टरले ल्याएको हो चारै स्थानको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरीए पनि ओलाङ्चुङगोला र घुन्सामा मौषम बदलि भएका कारण हेलिकोप्टर बस्न नसक्दा चार स्थलका मेतपेटिका दुई पटकमा ल्याईएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए।

हिजो भएको मतदानमा ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो । यस्तै १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो । चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो । हिडेर आउन कम्तिमा चार दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौ खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नुपरेको छ ।

यता १ सय १४ केन्द्रमध्ये चार केन्द्रको बाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आईरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिए । ती सबै मतपेटिका सोमबार राति सम्ममा आईपुग्ने र राजनितीक दलको रोहबरमा मतपेटिका राखिएको चारवटा कोठालाई सिलबन्दि गरीने अधिकृत कार्किको भनाई छ ।

सिल बन्दि पछि मतपेटिकोको सुरक्षामा पहिलो घेरामा नेपाली सेना, दोस्रोमा ससस्त्र प्रहरी र तेस्रोमा नेपाल प्रहरी राखिने प्रमुख जिल्ला अधिकारी मोहन जिसिले बताए। दलहरुले आफ्नो पाटिबाट पनि प्रतिनिधि राख्न चाहे उनिहरुलाई पनि बस्ने व्यवस्था मिलाईएको जिसिको भनाई छ ।