ताप्लेजुङ । पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचना ताप्लेजुङ ६५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार ७३ मतदानस्थलमा रहेका १ सय १४ मतदान केन्द्रमा ६५ प्रतिशत मतदान भएको कार्कीको भनाई छ ।

कुन केन्द्रमा कति मतदान भयो भन्ने तथ्याङ्क भने भोली सोमबार मात्र आउने उनले बताए । स्थानीय तहको निर्वाचनमा ७१.१ प्रतिशत मतदान भए पनि यो निर्वाचनमा ६.१ प्रतिशत कम मतदान भएको छ ।

सबै स्थानमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भयो यो नै ठुलो कुरा हो, कार्कीले भने–दुर्गम मतदान स्थलमा पनि उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । अति दुर्गम मानिएको फक्ताङ्लुङ ७ को याङ्मा केन्द्रमा नै २८.०१ प्रतिसत मतदान भएको उनले बताए । ५७ मतदाता रहेको याङ्मा आधारभुत विद्यालयको केन्द्रमा मतदान सम्पन्न भएको हो ।

त्यस केन्द्रमा १६ मत खसेको छ । जसमा ११ पुरुष र ५ महिलाले मतदान गरेका थिए । २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको छ । जहाँ ४४ पुरुष र ५० महिला मतदाता सहभागि भएका थिए ।

यस्तै ४९ मतदाता संख्या रहेको ग्याब्लामा २५ मत खसेको छ । ग्याब्लामा १३ पुरुष र १२ महिलाले मतदान गरेका छन् भने १ सय ३१ मतदाता रहेको घुन्सामा ५७ मत खसेको छ त्यहाँ ३१ पुरुष र २६ महिलाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

सो केन्द्रको मतपेटिका भोलि नेपाली सेनाको हेलीकोप्टरबाट सदरमुकाम ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले बताए । अन्य मतदान स्थलको मतपेटिका भने स्थल मार्गबाट कुनै बोकेर त कुनै यातायातको साधनबाट ल्याउने तयारी भएको जिसिले बताए ।

सबै मत पेटिका सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिने व्यवस्था मिलाईएको छ । कार्यालय आसपासका मत पेटिका भने आईतबार साँझनै कार्यालयको मत पेटिका राख्ने कोठामा ल्याईएको छ । मतपेटिका नेपाली सेनाको सुरक्षामा ल्याईएको छ । सोमबार सबै स्थानका मत पेटिका ल्याएपछि सो कार्यालयमा रहेका चार वटा कोठामा सिलबन्दि गरी राखिने मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।