बेलायती महारानी एलिजावेथ र उनका पति राजकुमार फिलिपले आफ्नो विवाहको ७० औँ वर्षगाँठ सोमबार सानो पारिवारिक जमघटका बीच मनाउने भएका छन्।
उनीहरुको विवाह २० नोभेम्बर, १९४७ मा भएको थियो। दोस्रो विश्वयुद्ध समाप्तिको दुई वर्षपछि भएको उनीहरुको भव्य विवाह समारोहमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख सहभागी भएका थिए। तर विवाहको ७० औँ वर्षगाँठ चाहिँ उनीहरुले विन्डसर क्यासलमा बिना तामझाम मनाउने भएका छन्।
रानी एलिजावेथ र राजकुमार फिलिपले आफ्नो विवाहको रजत, स्वर्ण र हीरक जयन्ती भने भव्यताका साथ मनाएका थिए। रानी एलिजावेथ र राजकुमार फिलिपको विवाह समारोह
विवाहको पाँच वर्षपछि रानी एलिजावेथले गद्दीमा बसेकी थिइन्। उनले ६५ वर्ष शासन गरिसकेकी छन्। यसबीचमा उनीहरुको सम्बन्धमा दरार नआएको बताइन्छ, यद्यपि उनीहरुका चारमध्ये तीन सन्तानको सम्बन्धविच्छेद भएको थियो।
हाल रानी एलिजावेथ ९१ वर्ष पुगेकी छन् भने राजकुमार फिलिप ९६ वर्ष पुगेका छन्। एजेन्सी
































