पाँचथर/ यसअघि सम्पन्न स्थानीय तहको निर्बाचनमा दल र उम्मेद्वारबाट जिल्लामा ब्यापक रुपमा आचार संहिता उलंघन भएको भन्दै सरोकारवालाले यसलाई रोक्नुपर्ने बताएका छन् ।

सदरमुकाम फिदिममा शुक्रबार सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत युएनडिपी क्षेत्रिय कार्यालय विराटनगरले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीमा सरोकारवालाले आचार संहिताको पालनामा जोड दिएका हुन् । स्थानीय तहको निर्बाचनमा दल र उम्मेद्वारले आचार संहिता बिपरित राँगा, खसि काटेर भोज खुवाउँने, चुनाब चिन्ह र चुनाबी नारा अंकित टि–सर्ट बाढ्ने, रङ्गीत पर्चा–पम्प्लेट टाँस्ने लगायतका क्रियाकलाप गरेका थिए ।

आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा समेत यस्तो क्रियाकलाप दोहोरिन सक्ने भन्दै यसलाई नियन्त्रण गर्न सरोकारवालाले सम्बन्धित निकाय सँग माँग गरे । उक्त गोष्ठीमा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्बाचन आचार संहिता अनुगमन अधिकृत कृष्ण बहादुर बस्नेत र जिल्ला निर्बाचन अधिकृत धु्रव कुमार राईले आचार संहिताको पालना गर्ने, गराउँने बिषयमा गम्भिर रहेको उल्लेख गर्दै यसमा सबै पक्षले सहयोग गर्न आग्रह गरे ।

गोष्ठीको सहजीकारण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले गरेका थिए । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने शन्दर्भमा आवस्यक अन्तरक्रिया गरी ठोस पहल, कदमी होस भन्ने उदेस्यले गोष्ठिको आयोजना गरिएको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम (युएनडिपी) का क्षेत्रिय संयोजक राजेन्द्र सुब्बाले बताए । गोष्ठिको संयोजन सर्वदलीय राजनीतिक संवाद समिति र स्थानीय शान्ति समितिले गरेका थिए ।

गोष्ठिमा जिल्ला स्थित राजनीतिक दल, कार्यालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।