सोल/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राखेकाे हाे ।

दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उनले सो धारणा राखेकाे समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेकाे हो ।

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिएको छ ।

उनले भने– उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिनसक्छ ।

गएको २४ बर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुगेका ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गरे । उनले उत्तर कोरियालाई अत्याचारी, क्रुर र तानाशाही शासको संज्ञा पनि दिए ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । उत्तर कोरियाले दक्षिणका विरुद्धमा क्षेप्यास्त्र परीक्षण पनि गर्ने गरेको छ ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ ।

उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेको थियो ।

उनले उत्तर कोरियाका विरुद्धमा संसदमा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरुले निकै उत्साहित भएर ताली ठोकेका थिए । उनको सम्बोधनको उनीहरुले समर्थन गरेका थिए ।

एसिया भ्रमणको मुद्धा उत्तर कोरिया

उनको यस एसियाको भ्रमणको मुद्धा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उनको मुद्धा बनिरहेको उनका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरुले पनि देखाएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेकाे थियो ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेकाे थियो ।

एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा उहाँका समकक्षी मुन जाय इनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राखेकाे थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्नसक्ने चेतावनी दिएको थियो । उनी एसियाका पाँच देशको भ्रमणमा छन् ।

तर यी सबै देशको भ्रमणमा पनि उनको मुद्धा उत्तर कोरिया र विशेषगरी यसको परमाणु हतियारको महत्वाकांक्षा बनेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित सो विशेष पत्रकार सम्मेलनमा ट्रम्प र मुन नै उत्तर कोरियाका विरुद्धमा खनिएको थियो ।

उनीहरूले उत्तर कोरियाका सामु परमाणु हतियारविहीन बन्नु बाहेकको अर्को बिकल्प नरहेको कुरा बारम्बार दोहार्याइएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमै उत्तर कोरिया वार्ताको टेबलमा आएर सबै आफ्ना कुरा राख्ने र शान्तिपूर्ण रुपमा अघि बढ्न सकेमा मात्र उत्तरका लागि हित हुने सुझाव प्रस्तुत गरेकाे थियो ।