ताप्लेजुङ/आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतदाता शिक्षा सामग्री सोमबारमात्र ताप्लेजुङ आईपुगेको छ । मदतान गर्ने समय नजिकी सक्दा हिमाली जिल्ला ताप्लेजुङमा सोमबार मात्र मतदाता शिक्षा सामाग्रि आईपुगेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले मतदाता शिक्षामा प्रयोग हुने सामाग्री आईपुगेकाले अब भोली (मंगलबार) बाटनै मतदाता शिक्षा अभियान सुरु हुने जानकारी दिए । ठाकुरका अनुसार तत्कालका लागि फुङलिङ नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु हुने छ । ढिला गरी मात्र मतदाता शिक्षा सामाग्रि आईपुगेकाले अवको १७/१८ दिनमा ताप्लेजुङको गाउँ गाउँ सम्म पुगेर मतदाता शिक्षा दिन समस्या हुने देखिएको उनले बताए । १ सय १४ मतदान केन्द्र रहेको ताप्लेजुङमा मतदान केन्द्र बराबर नै मतादाता शिक्षा कार्यकर्ता परिचालन गरिने भएको छ । ठाकुरका अनुसार मतदाता शिक्षा कार्यकर्ताले खटिएका मतदान केन्द्र भरीका मतदाता कहाँ पुगेर मतदान गर्ने तरिका बारे जानकारी गराउने छन् । ति कार्यकर्ताले मतदानका लागि मतदातालाई उत्प्रेरित समेत गर्ने जिम्मेवारी पाएका छन् । जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा कार्यरत सामाजिक परिचालक, कम्तिमा एसएलसी वा एसइई तह उर्तिण महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक बिद्यालयमा कार्यरत ४५ बर्ष ननाघेका शिक्षक-शिक्षिकालाइ मतदाता शिक्षा कार्यकर्ताको रुपमाा परिचालन गर्ने निर्वाचन कार्यालयको तयारी रहेको छ । नगरपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा ७८ हजार ३९७ मतदाता रहेका छन् । यो गत असार १४ गते सम्पन्न स्थानीय तहमा कायम रहेको मतदाता संख्या भन्दा ७ हजार ६१९ ले बढी हो । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि १ सय ९ जनशक्ति परिचालित थिए । २०५८ को जनगाण्ना अनुसार यहाँको जनसंख्या १ लाख २७ हजार ४६१ रहेको छ । गएको स्थानीय तहको निर्वाचनमा औठा छाप लगाइएको,मतपत्र खाली भएको,आवश्यकता भन्दा बढी चिन्हमा स्वस्तिक छाप लगाएको,मतपत्रमा बढी मसी भइ लत्पत्तिएर स्वस्तिक छाप नबुझिएको, कुनै मत पत्रमा मसी कम भइ स्वस्तिक छाप नचिनिएको, मतपत्र पट्याउँदा अर्को चिन्हमा स्वस्तिक छाप पर्न गइ दोहोरो चिन्हमा स्वस्तिक छाप लाग्न पुगेको तथा मतपत्रमा भएका चिन्ह भन्दा फरक ठाउँमा स्वस्तिक छाप लागेका कारण मत बदर भएको तथ्य निर्वाचन कार्यालयले औंल्याएको थियो । जिल्ला निर्वाचन अधिकारी ठाकुरले अघिल्लो निर्वाचनबाट पाएको अनुभव समेतलाइ आधार मानेर मतदाता शिक्षा प्रभावकारी बनाउने कार्यालयको तयारी सुनाए । मतदाता शिक्षा प्रभावकारी बनाउने हो भने मतदाताले दिएको मतको सहि सदुपयोग हुने तथा मतदानका लागि मतदाता उत्प्रेरित भइ मतदानमा सक्रिय सहभागी हुने भएको मतदाता शिक्षालाइ निर्वाचन कार्यालयले सबैभन्दा उच्च कोटीको क्रियाकलाप भित्र समेटेको छ ।