भद्रपुर । झापामा पाँच जनाले उम्मेदवार मनोनयन दर्ता फिर्ता लिएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा १ सय ४६ जनाको उम्मेदवारी परेको जिल्ला समन्यव समिति झापामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । पाँचको उम्मेदवारी फिर्तासँगै झापामा १ सय ४१ उम्मेदवार कायम रहेको छ । उम्मेदवारी दिएका मध्ये दुई जना प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र अन्तिम नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधिसभा सदस्य तर्फ झापा क्षेत्र नम्बर २ बाट नेकपा मालेका खगेन्द्रप्रसाद प्रसाई र झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्रका रमेश श्रेष्ठले फिर्ता लिएका छन् । त्यस्तै प्रदेशसभा सदस्यतर्फ झापा क्षेत्र १ (क) बाट स्वतन्त्रका रोशन अग्रवाल, सोही क्षेत्र (ख) बाट स्वतन्त्रका नरेन्द्र मेचे र झापा क्षेत्र ४ (ख) बाट विवेकशिल पार्टीका घनेन्द्रराज खनालले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।
यता झापा जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पाँच वटा निर्वाचन क्षेत्रबाट पाँच जना प्रतिनिधिसभा सदस्य र १० जना प्रदेशसभा सदस्य गरी १५ जना निर्वाचित हुने छन् । प्रतिनिधिसभाका लागि ५७ जना र प्रदेशसभा (क) र (ख) मा गरी ८४ जना उम्मेदवार रहेका छन् ।