भद्रपुर । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जानकारी दिए । असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित अन्य पाँच जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको एसपी केसीले बताए । बालक हत्याको विषयलाइ लिएर स्थानीयले इलाका कार्यालय विर्तामोडमा प्रर्दशन गरेका थिए । स्थानीय र प्रहरीको झडपका कारण प्रहरीको गोली लागेर अर्जुनधारा ११ का ३५ वर्षिय नरेश थापाको ज्यान गएको थियो भने दुवै तर्फ दर्जन भन्दा बढी घाइते भएका थिए । घट्नालाइ लिएर तिन दिन विर्तामोड क्षेत्रमा कफर्यु लागेको थियो ।