भद्रपुर । प्रहरी संरक्षणबाटै थुनुवा फरार भएपछि चार जना प्रहरी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सइ राजन खड्कासहित एक हवल्दार र दुई प्रहरी जवान गरी चार जना कारवाहीमा परेका हुन् ।
थुनुवा भागेपछि संगठनको निति तथा कानुन अनुसार चार जना प्रहरी कारवाहीमा परेको प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । उनीहरुलाई हाल हिरासतमा राखिएको छ । उनीहरुलाई आईतबार झापा जिल्ला अदालत भद्रपुरमा पेश गरी झापा कारागार चलान गरिने एसपी केसीले जानकारी दिए । घटना विवरण अनुसार बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका ५ का२० बर्षिय रोशन माझी शुक्रवार बेलुका साढे ८ बजे मेची अञ्चल अस्पातल भद्रपुरबाट फरार भएका थिए । पेट दुखेर अस्पातल लगिएका थुनुवा माझी अस्पतालको आकस्मिक कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका हुन् । उनलाई प्रहरीले हतकडी खोलेर शौचालय गर्ने लगेका थिए । सोही बेला भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । फरार भएका थुनुवा माझीको खोजी कार्य तिव्र बनाईएको झापा प्रहरीले जनाएको छ । नजिकै छिमेकी राष्ट्र भारततर्फ भागेको हुन सक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतमा खोजी जारी राखिएको एसपी केसीले जानकारी दिए । गत कार्तिक ४ गते भाईटीकाको दिन माझीले छिमेकी ६ बर्षिया बालिकालाई ज्यान मार्ने धम्की दिदै जबरजस्ती बलात्कार गरेका थिए । पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गराई प्रहरी कार्यालयमा राखेर अनुसन्धानका गरिरहेका थिए ।