काठमाडौं /दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वली अहिले उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने दोधारमा छिन् । आज उनले उम्मेदवारी फिर्ता लिनेमा एमाले नेताहरु ढुक्क देखिन्छन् ।
एमाले नेतृत्वसँग पटक-पटक सम्वाद गरेर फिर्ता लिने मनस्थितिमा पुगेकी कोमललाई एमाले कार्यकर्ताले भने उठ्न दबाव दिएका छन् । दाङ क्षेत्र नं ३ मा एमालेबाट आधिकारिक टिकट पाएका हिराचन्द्र केसी स्थानीय सुन व्यवसायी हुन्, जो पाँच वर्षअघि राप्रपावाटै एमाले प्रवेश गरेका थिए ।
‘यदि राप्रपाबाटै आएकालाई भोट हाल्नुपर्छ भने हामी तपाईंलाई भोट हाल्छौं उठ्नुस्, तपाई लोकप्रिय हुनुहुन्छ,’ एमाले कार्यकर्ताले यसो भन्दै उक्साउने गरेका छन् कोमललाई ।
केसीप्रति पनि पुराना एमाले नेताहरु असन्तुष्ट रहेको स्रोतको भनाइ छ । केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
उता दाङ ३ मा नेपाली कांग्रेसबाट टिकट पाएका दीपक गीरीलाई पनि नेपाली कांग्रेसकै खुमबहादुर खड्का समूहले असहयोग गर्ने कोमल ओलीले सुइँको पाइसकेकी छिन् । उनले यसलाई आफ्नो पक्षमा खुमबहादुर खड्काले दिएको ‘ग्रिन सिग्नल’का रुपमा बुझेकी छिन् ।
दाङ क्षेत्र नं. ३ मा एकलाख ३४ हजार मतदाता छन् भने ओलीहरु मात्रै १४ हजार बढी छन् । आफू चुनावमा उठे ओलीहरुको समेत भोट आउने विश्वासमा छिन् कोमल ।
‘पार्टीमा लागिसकेपछि मेरो मात्रै निर्णयले नहुने रहेछ, कार्यकर्ताले जे भन्छन् त्यही गर्छु,’ कोमलले भनिन् ।
एमाले उच्च स्रोतले भने आज कोमल ओलीले उम्मदेवारी फिर्ता लिने बतायो ।
अनलाइनखबर