दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले हिजो विपी, गणेशमानजस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको कांग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाए । प्रेस चौतारी झापाले शुक्रवार दमकस्थित ओली निवासका गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले म्याद सकिएको औषधी सेवन गरे स्वस्थ्य मानिस पनि बिरामी हुने भन्दै कांग्रेस अब काम नलाग्ने पार्टी भएको टिप्पणी गरेका हुन् । मंसीर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका ओलीले निर्वाचन अभियानको सुरुवातका क्रममा पत्रकारसँग अन्तरक्रिया गरेका हुन् । संसदीय होस् या अरु जुनसुकै व्यवस्था भए पनि मुलुकको समृद्धि, विकास, अमन र चयन, शान्ति सुरक्षा नेपाली जनतालाई दिनुपर्ने होइन भन्दै पत्रकारको जिज्ञासामा उनले प्रतिप्रश्न तेर्साए । देश बनाउन संकल्प, नीति, कार्यक्रम र निष्ठा आवश्यक हुने बताए ।

प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता ओलीले आफू सरकार प्रमुख रहेको बेला वैदेशिक रोजगारीमा जाने युवाको संख्या १८ प्रतिशत घटेको तथ्य सुनाए ।

उनले अब वाम गठबन्धनले जीतेपछि मुलुकमा नै युवा जनशक्तिले रोजगारी पाउने गरी उद्योगधन्दा र विकास निर्माणका काम गरिने लक्ष्य लिएकाले वैदेशिक रोजगारीका लागि जानुपर्ने बाध्यता हट्ने आश्वासन पनि दिए ।

ओलीले निर्वाचन भय रहित र निष्पक्ष हुनपर्नेमा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।