काठमाडौं/स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका धेरै नेताले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने भएका छन् । ०६२/६३ पछि स्वास्थ्य मन्त्री बनेकाहरुमध्ये अधिकांश नेता चुनावी मैदानमा उत्रेका छन्। पूर्व स्वास्थ्य मन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उठ्दै छन् । यसअघि पनि सोही क्षेत्रबाट विजयी भएका उनलाई वामपन्थी गठबन्धनबाट नेकपा एमालेका राजन भट्टराईले चुनौती दिनेछन् । तीन पटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेल महोत्तरी १ बाट चुनावमा उठ्दै छन् ।  उनीसँग कांग्रेसका सीताराम भण्डारी प्रतिष्पर्धा गर्दै छन्। छोटो समय स्वास्थ्य मन्त्री बनेका रामजनम चौधरी कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दैछन् । उनलाई वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता तथा पूर्व कृषिमन्त्री गौरीशंकर थारुले चुनौती दिनेछन् । स्वास्थ्यमन्त्री बनेका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो धनुषा – ३ बाट उठ्दै कांग्रेस नेता विमलेन्द्र निधिसँग प्रतिष्पर्धा गर्दै छन्। माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार बनेका छन् । उनलाई कांग्रेस नेता राजीवविक्रम शाहले चुनौती दिँदै छन्। पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कास्की १ बाट प्रतिनिधि सभामा निर्वाचन लड्ने भएका छन् ।