धरान/नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश नंं १ प्रचार संयोजक हिक्मत कार्कीले वाम गठबन्धन कुनै पार्टीलाई पछि पार्न, सरकारको नेतृत्व गर्न नभई मुलुकको सामाजिक परिवर्तनका लागि एकता गरिएको बताए ।

बुधबार इटहरीमा प्रेस चौतारी र प्रेस सेन्टरको सयुक्त भेलालाई सम्बोधन गदैं गठबनधन चुनावका लागि मात्र नभई दीर्घकालिन गठबन्धन हुने कार्कीले बताए । भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिव डाँगीले मुलुकको परिवर्तनका लागि वापन्थी शक्ति एक हुन आवश्यक ठानेर नै एकता भएको स्पष्ट पारे ।

भेलाले मङ्सिर १० र २१ गते हुने प्रदेश सभा तथा प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धनलाई जिताउन बुधबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुक्त बैठकले प्रदेश नं. १ स्तरिय निर्वाचन परिचालन तथा प्रचार प्रसार सचिवालय गठन गरेको छ । प्रचार संयोजक हिक्मत कार्की र माओवादी केन्द्रका केन्द्रीय सदस्य शिव डाँगीको उपस्थितिमा इटहरीमा भएको भेलाले ११ सदस्यीय सचिवालय गठन गरेको हो ।

समितिमा लिलाराज भट्टराई, विवेक गौतम, देबेन्द्र कार्की, राजन केडी, विक्रम लुईटेल, गणेश लम्साल, अम्विका भण्डारी, विमल लामीछाने, केशव घिमिरे, भरत खड्का र गोपाल गठतौला रहेका छन् । गठबन्धनका उम्मेद्वारहरूलाई जिताउन जिल्लामा प्रचार प्रसार समिति बनाउने, उम्मेद्वारका विषयमा प्रोफाईल निर्माण गर्ने लगायतका निर्णय भएको समितिले जनाएको छ ।

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र किराती, नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य यज्ञ शर्मालगायतले सचिवालयको अभियान सफलताका लागि शुभकामना दिए । सचिवालय कार्यलय व्यवस्थापना, प्रचार रणनीतिलगायत विषयमा अध्ययन गर्न प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक लिलाराज भट्टराई, प्रेस सेन्टरका प्रदेश अध्यक्ष राजन केडीलाई जिम्मा दिइएको छ ।