भक्तपुर/ भक्तपुर निर्वाचन क्षेत्र नंम्बर १ अन्र्तगतको प्रदेशसभा क मा माओवादीलाई टिकट दिन लागेको भन्दै एमालेका असन्तुष्ट कार्यकर्ताले एमाले कार्यलयमा तालाबन्दी गरेका छन् । एमालेका असन्तुष्ट कार्यकर्ताले भक्तपुरको सुर्यविनायकस्थित एमाले कार्यलयमा बुधबार विहान तालावन्दी गरेका हुन् । यसअघि सो क्षेत्रबाट एमालेका हरिशरण लामिछाने सिफारिस भएपनि पछिल्लो समय गठबन्धनको भागबण्डामा माओवादीलाई परेपछि असन्तुष्ट कार्यकर्ता आक्रोशित हुदै तालाबन्दी गरेका हुन् । तालावन्दीपछि उनिहरु कार्यलय बाहिर बसेर धर्ना दिइरहेका छन् भने दवाव दिन उपाध्यक्ष बामदेव गौतमको घरमा जाने तयारी भइरहेको बताएका छन् । गठबन्धनले सो क्षेत्र कसको भागमा राख्ने भन्ने निर्णय भने गरिसकेको छैन । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा भक्तपुर लगायत बाँकी क्षेत्रको टुङगो लगाउन बैठक बसिरहेको छ । यसअघि गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा नेमकिपालाई टिकट दिने निर्णयको एमालेका असन्तुष्ट कार्यकर्ताले विरोध गरेका थिए । भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए । दंगालले भने, “हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनौँ तर भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेको राम्रो पकड हुँदाहुँदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भयो भन्ने जानकारी आयो, यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरेका हौँ ।” तालाबन्दी गर्दै क्षेत्र नं १ का नेता कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । यसबारेमा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले तालाबन्दीले कुनै असर नपर्ने बताउँदै केही कार्यकर्ताले यसमा असन्तुष्टी मात्र पोखेको दाबी गरे ।