काठमाडौँ । एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।
नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ । गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् । ‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले भने ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’
एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ ।
माओवादीसँग भागबण्डा टुंगो लागेपछि एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले १ नम्बर र ६ नम्बर प्रदेशका केही जिल्लाका उम्मेदवार तय गरेको छ । १ नम्बर प्रदेशका इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम र ६ नम्बर प्रदेशका सुर्खेत र दैलेखमा उम्मेदवार पनि टुंगो लागेको छ ।
झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने भएको छ । कांग्रेस र राप्रपाबीच लिङदेनलाई झापा ३ मा उठाउने सहमति भए पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उक्त क्षेत्रमा दाबी नछोडेपछि लिङदेनले राप्रपाबाट चुनाव लड्ने घोषणा गरेका थिए । एमालेले लिङदेनलाई नै समर्थन जनाउने निर्णय गरेपछि उनी वामगठबन्धनसमेतको उम्मेदवार बन्ने भएका छन् । झापा ३ मा लिङदेनलाई सघाउने र झापाका अन्य क्षेत्रमा राप्रपाले वामगठबन्धनलाई सघाउने भित्री सहमति भएको एमाले स्रोतले बताएको छ । एमालेले इलामको १ नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ नम्बरमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।