पाँचथर/ पाँचथर र ताप्लेजुङ जिल्लालाई छुट्याएर बग्ने कावेली खोलामा निर्माण भइरहेको कावेली बी ‘वान’ जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । अब बढीमा  फागुन महिना सम्ममा आयोजनाबाट बिद्युत उत्पादन गरिने आयोजनाका प्राविधिक प्रमुख हस्तमान राईले बताए ।

[caption id="attachment_58633" align="aligncenter" width="800"] पाँचथरको याङवरक गाउँपालिका–६, पिपलेमा निर्माण सम्पन्न भएको आयोजनाको पावर हाउस । तस्विरहरु : सन्देश सुब्बा[/caption]

असोज २०७२ देखि निर्माणको चरणमा प्रवेश गरेको आयोजनाको पावर हाउसको काम सम्पन्न भइसकेको छ । अब पावर हाउसमा मेशिन जडान गर्न मात्र बाँकि रहेको प्रविधिक प्रमुख राईले बताए । त्यस्तै इन्टेकको ९५ प्रतिशत, बालुवा थिगार्ने पोखरीको ९५ प्रतिशत र सर्च ट्याङ्कीको ८० प्रतिशत काम सम्पन्न भएको छ । इन्टेकदेखि सर्च ट्याङ्कीसम्मको ४८ सय मिटर हेड्रेस (फलामे) पाइप र सर्च ट्याङ्कीदेखि पावर हाउससम्मको तीन सय २० मिटर पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना सम्पन्न भएपछि २५ मेगावाट विद्युत उत्पादन हुनेछ ।

सम्झौता अनुसार १० वैशाख २०७४ भित्रमा आयोजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि महाभूकम्प, अघोषित भारतीय नाकाबन्दी, निर्माण कार्यलाई नै प्रभावित पार्ने गरी काबेली खोलामा आएको बाढी लगायतका कारणले समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्यमा कुनै प्राकृतिक विपद र अवरोध नआएमा अबको चार महिनामा आयोजनाको काम सम्पन्न हुने प्राबिधिक प्रमुख राईले दाबि गरे ।

[caption id="attachment_58634" align="aligncenter" width="800"] पाँचथरको याङवरक गाउँपालिका–६, दाहालगाउँमा निर्माण सम्पन्न हुन लागेको आयोजनाको इन्टेक ।[/caption]

काबेली बी ‘वान’ पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका (साविक थर्पु, नागी र अमरपुर गाविस) त्यस्तै ताप्लेजुङको सिरिजंगा, सिदिङ्वा र याङवरक गाउँपालिका (साविक थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम गाविस) लाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको हो । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पु दाहालगाउँ स्थित काबेली खोलाको इन्टेकदेखि ४८ सय मिटर पाइपलाइन मार्फत याङवरक गाउँपालिका–६ पिपले स्थित सर्च ट्याङ्की हुँदै पावर हाउसमा पानी खसाइनेछ । आयोजनाको मुहानमा छ वटा ब्यारेज ढोका र चार इन्टेक ढोका रहनेछन् ।

अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लागत चार अर्व रहेको छ । उक्त आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वटा बैंकहरुले ७० प्रतिशत लगानि गरेका छन् । लिमिटेडको ३० प्रतिशतमध्ये एक सय ५० करोड साधारण सेयर र साधारण सेयरमा दश प्रतिशत पाँचथर–ताप्लेजुङका स्थानीयको सेयर लगानि रहेको आयोजनाको भनाई छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाकालाई बिद्युतीकरण, सडक, खानेपानी लगायतमा हालसम्ममा करीब ६० लाख बराबरको सहयोग गरेको आयोजनाका स्थानीय सामाजिक परिचालक डिल्ली सुवेदीले बताए ।

[caption id="attachment_58635" align="aligncenter" width="800"] आयोजनाको पाइप लाइन ।[/caption]

आयोजना सम्पन्न हुँदा सम्ममा एक सय ३२ केभीए विद्युत प्रशारणलाइन काबेली करिडोरको काम भने सम्पन्न नहुने देखिएको छ । करिडोरले काम सम्पन्न गर्न आगामी १० बैशाख सम्म म्याद थपिसकेको छ । जसका कारण उत्पादित विद्युत निर्यात गर्ने माध्यम नहुँदा प्रत्येक २४ घन्टामा २५ लाख घाटा हुने देखिएको आयोजनाले जनाएको छ । निर्माण कम्पनिले यो सँगै याङ्वरक गाउँपालिका–६, र हिलिहाङ गाउँपालिका–१, लाई प्रभाव क्षेत्र बनाएर ९.९ मेगावाट क्षमताको काबेली बि ‘वान’ क्यासकेट निर्माणको लागि समेत प्रक्रिया अघि बढाएको छ ।